आज बागमती प्रदेशको बैठक बस्दै, मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने

काठमाण्डौ/बागमती प्रदेशमा पनि एमालेको सरकार लगभग परिवर्तन हुने निश्चित भएको छ । मुख्य मन्त्री शाक्यले विश्वासको मत लिने प्रक्रिया सुरु गर्न प्रदेश सभाको बैठक आज बोलाइएको छ । भदौ २ मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको शाक्य नेकपा एमाले विभाजनपछि अल्पमतमा पर्नुभएको छ ।
बागमती प्रदेश सभामा १ सय ९ सदस्य छन् । मुख्यमन्त्री शाक्यले विश्वासको मत जुटाउन ५५ जना सांसद आवश्यक पर्छ । हाल सत्तारूढ नेकपा एमालेसँग ४३ जना सांसदमात्र छन् । उहाँलाई १२ जना अन्य दलका सांसदले समर्थन गरे मात्रै विश्वास पाउने सम्भावना रहन्छ ।
एमाले बाग्मती प्रदेशका प्रमुख सचेतक दीपक निरौलाले सरकारले विश्वासको मत लिएपछि बाँकी बिषयमा छलफल गर्ने बताउनुभयो । केन्द्रसँगै अब केही प्रदेशमा पनि सरकारको समिकरण फेर्नुपर्ने माग उठ्न थालेको छ ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्न काँग्रेस सांसदहरूले आग्रह गरेका छन् । काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावल सहितको नेताहरूले हिजो प्रधानमन्त्री देउवालाई सुदूरपश्चिम सरकारबाट काँग्रेसलाई सहयोग नभएको भन्दै मुख्यमन्त्री परिवर्तन गर्न आग्रह गरेका हुन् ।