एमसीसीको विरोधमा नेकपाको काठमाण्डौमा बिशाल प्रदर्शन

काठमाण्डौ/अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाण्डौमा प्रदर्शन गरेको छ । नेता विप्लवले एसीसी नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र नेपाली नागरिकको अधिकारको विरुद्धमा रहेको उल्लेख गर्दै त्यसलाई स्वीकार गर्ने पक्षमा कुनै पनि नेपाली नरहेको दाबी समेत गर्नुभयो ।
उहाँले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि लागू गर्ने यस सम्झौताको विरुद्धमा उभिन देशभक्त, क्रान्तिकारी शक्तिहरूलाई आह्वान समेत गर्नुभयो । एमसीसीको विरुद्धमा काठमाण्डौको खुलामञ्चमा पार्टीले आयोजना गरेको विरोध सभामा बोल्दै उहाँले नेपाली भूमिमा अमेरिकाले सुरक्षा गर्ने प्रावधान सहित आएको सम्झौता पारित गर्न कसले सक्छ? भनी प्रश्न पनि गर्नुभयो ।
महासचिव चन्दले भन्नुभयो, ‘हामी लड्छौँ । कुनै पनि हालतमा एमसीसी लागू हुन दिँदैनौँ । यो कुनै लुकाइ–छिपाइ कुरा छैन । आज पनि हामी भन्छौँ– एमसीसी नेपालको राष्ट्रियताको विरुद्धमा छ । नेपालको सार्वभौमिकताको विरुद्धमा छ । नेपालको स्वतन्त्रताको विरुद्धमा छ । नेपाली जनताको अधिकारको विरुद्धमा छ । कुनै पनि देशले हाम्रो देशमाथि जबरजस्ती सन्धि लाद्न पाउँदैन । एमसीसी आज एउटा बहस छ । लप्सी फेदीदेखि सुनौलीसम्मको टावरहरूको जमिनमा अमेरिकाको अधिकार हुनेछ । त्यहाँको सुरक्षा अमेरिकाले गर्नुपर्नेछ । यो कुरा उल्लेख छ, त्यहाँ । यो सम्झौता कसको हितमा गरिँदैछ ? अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि यो सम्झौता लागू गरिनेछ ।’भन्दै महासचिव बिप्लबले येस्तो रास्ट्रघाती सम्झौताको बिरुद्ध आम जनतालाई सडकमा ओर्लिन आव्हान गर्नुभएको थियो।