कालोसूचीका एलबीको अर्को छलकपट : एनबी बैंकको ६ अर्बको सेयर खरिद गर्दै।

काठमाडौं/बैंकको कर्जा नतिरेकै कारण पटक पटक लिलामीको सूचीमा नाम निस्केका लक्ष्मीबहादुर श्रेष्ठ(एलवी)ले ढाकास्थित आइएफआइसी बैंकले लिलाम गर्न लागेको नेपाल बंगलादेश बैंकको स्वामित्व खरिदका लागि निवेदन दिएका छन् । उनीसँगै अगाडि सरेका छन्, एनबी बैंककै पूर्व अधिकृत नरेन्द्र भट्टराई । समाचार स्रोतका अनुसार एलबीका छोराहरू एल्सन र विल्सन श्रेष्ठका नामबाट सेयर खरिदको आवेदन दिइएको छ ।
आवेदक कम्पनीहरूमा मनाङ इन्भेन्ष्टमेन्ट, दिब्यश्वरी इन्भेष्टमेन्ट, हिमालयन क्यापिटल मार्केट एण्ड इन्भेष्टमेन्ट र हिमसागर ट्रेडिङ रहेका छन् ।

न्यायिक निकाय समेत बिकाउ

ब्यक्तिगत स्वार्थ पूरा हुँदा नेपालका क श्रेणीका बैंकले समेत फर्जी विवरण कसरी सार्वजनिक गर्दारहेछन् भन्ने उदाहरण एनसीसी बैंकको परिपत्रबाट छर्लङ्ग हुन्छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले २०७७ फागुन २६ मा एनसीसी बैंकलाई जेनिथ इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज प्रालिको सेयर एल्सन श्रेष्ठको नाममा ट्रान्सफर भएको प्रक्रियाको विवरण मागेको थियो ।

सीआईबी स्रोतका अनुसार बैंकले २०७७ चैत २६ मा सीआइबीलाई जवाफ पठाउँदै भनेको छ–‘जेनिथ इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज प्रालिका एकल संचालक जीतबहादुर श्रेष्ठबाट ०७३ असार २६ मा उक्त कम्पनीको ३ लाख ८६ हजार कित्ता सेयर श्री एल्सन श्रेष्ठलाई बिक्री गर्ने निर्णय भएबमोजिम कम्पनी रजिष्टारको कार्यालयबाट नियम अनुसार एल्सन एकल सेयरधनी कायम भई अभिलेख भएको देखिन्छ ।’
सीआइबीलाई बैंकको उक्त विवरणमाथि नै शंका लागी पुनः २०७७ चैत ५ मा थप जानकारी माग गरेपछि बैंक फस्न पुग्यो । किनकि बैंक स्रोतबाट सीआइबीले तथ्यगत विवरण प्रमाणित रुपमै त्यसअघि झिकाइसकेको थियो । बैंक स्वयंले आफ्नो अघिल्लो २०७७ चैत ५ को पत्रको खण्डन गर्दै ०७७ चैत १० मा अर्को पत्र लेखेर भन्यो–जेनिथ इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज प्रालिका नाममा ५ लाख ४८ हजार ४४१ कित्ता सेयर रहेको र उक्त मितिमा यस बैंकको चुक्ता पूँजी २,३५,३१,७६० कित्ता सेयर रहेको छ । ‘क’ श्रेणीको स्थापित बैंकसमेत यसरी फर्जी डकुमेन्ट तयार गर्न राजी हुनुका पछाडि स्थापित औद्योगिक घराना एनबी समूहभित्रको घरझगडा नै प्रमुख कारण मानिएको छ ।

एनबी ग्रुपमा आवद्धमध्येका एक एलबी श्रेष्ठले बैंकभित्रको सेयरमा मात्रै चलखेल गरेका छैनन्, ब्यवसायीहरू भेषराज लोहनी, श्यामसुन्दर रुंगटा, केशव तिमल्सिना, भवन भट्ट जस्ता स्थापित ब्यक्तिको समेत प्रपर्टीमा आँखा लगाएपछि उनीहरू प्रहरी प्रशासन गुहार्न बाध्य भएका हुन् । प्रहरी प्रशासन, अख्तियार र अदालतको हवाला दिंदै कम्पनी रजिष्टारको कार्यालयमा सेयर बिक्री गर्ने पक्ष उपस्थित नभई सेयर बिक्री र खरिद गरिएको तथ्य समेत सार्वजनिक भएको छ ।
न्यायालय, प्रशासन र राष्ट्रबैंंकका उच्च अधिकारीलाई ललितपुरको हरिसिद्धिमा रहेको जग्गा उपलब्ध गराउने प्रलोभनमा पारी न्यायालयसमेतलाई प्रभावित बनाउँदै गरिएका क्रियाकलापको विषय अदालतका उच्च अधिकारी तथा अख्तियारसमेतलाई जानकारी भइसकेको प्रहरी उच्च स्रोतले बतायो ।

प्रहरी स्रोतका अनुसार एलबी श्रेष्ठ र न्यायाधीश, राष्ट्रबैंकका उच्च अधिकारी, प्रहरी प्रशासनका केही उच्च अधिकारीसमेतको संलग्नतामा बैंक तथा वित्तीय क्षेत्रभित्र उनीहरूले गरेको गतिबिधि अस्वभाविक देखिएको छ ।

ब्यक्तिगत स्वार्थका लागि एलबी श्रेष्ठले न्यायालयसमेतलाई प्रभावित बनाएको विषयको जानकारी न्यायालयको उच्च तहमा पुगेपछि एलबी श्रेष्ठका पक्षमा ब्यक्तिगत लबिङ समेत गर्दै हिंडेका प्रदेश २ को एक जिल्ला अदालतमा कार्यरत भट्टराई थरका न्यायाधीशसमेत छानबिनको दायरामा तानिएका छन् ।

उता एनसीसी बैंकले निज श्रेष्ठको प्रलोभनमा सीआइबीलाई लेखेको पत्रका आधारमा बैंकका कम्पनी सचिव कपिल ज्ञवालीका बारे राष्ट्रबैंकले सूचना प्राप्त गरेलगत्तै आन्तरिक छानबिन प्रारम्भ गरिसकेको स्रोतले बतायो । कम्पनी रजिष्टारको कार्यालयमा गएर वा नोटरी पब्लिकबाट प्रमाणित गराएर सेयर बिक्रीको प्रक्रिया सुरु गर्नुपर्ने र बिक्रीबापतको रकम बिक्री गर्ने पक्षको सीधै बैंकखातामा ट्रान्सफर भएको देखिनुपर्नेमा यी दुवै नभएपछि कम्पनी रजिष्टार कार्यालयको मिलेमतोमा अनियमितता भएको आशंकामा अख्तियारले कम्पनी रजिष्टारबाट उक्त फाइल झिकाइसकेको स्रोतले बतायो ।

स्मरण रहोस्, एलबी श्रेष्ठ तिनै ब्यक्ति हुन् जसले श्रीमती बिनु श्रेष्ठका नाममा खर्बौं रकम स्वीस बैंकमा यसअघि नै जम्मा गरेको बिषय सार्वजनिक भइसकेको छ । न्यायालय, प्रहरी, प्रशासन, राष्ट्रबैंक तथा एनसीसी बैंकसँगै विभिन्न ब्यक्तिसमेतलाई प्रभावमा पारी अकूत सम्पत्ति जोडेको र अहिले बंगलादेश बैंकको अर्बौं रुपैयाँको सेयर समेत खरिद गर्न निवेदन दिएको तर बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको साँवा, ब्याज नतिरी पटक–पटक लिलामीको सूचना निस्किएको विषयमा एलबी श्रेष्ठसँग प्रतिक्रियाका लागि प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

पैसा देखेपछि महादेवको त्रिनेत्र भनेझैं एलबी श्रेष्ठको पैसाका सामु नेपालका संवैधानिक निकायदेखि वित्तीय क्षेत्रका उपल्लो निकाय घुँडा टेक्छ वा उनीमाथि कारबाही हुन्छ, त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

एकातिर बैंकबाट लिएको अरबौं रुपैयाँ ऋण नतिर्ने एलबी श्रेष्ठले अर्कोतिर छोराहरूका नाममा ६ अर्बको सेयर खरिदका लागि निवेदन दिंदा पनि नियामक निकाय राष्ट्रबैंक मौन देखिएको छ । राष्ट्रबंैकले कर्जा नतिर्ने एलबीले ६ अर्बको सेयर खरिद कसरी गर्दैछ त्यसको बारेमा चासो नै नराखी मौनता साँधेको छ । सांघु न्युजबाट।