९ लाखका लागि आफनै साथीको हत्या गर्ने सेनाका एक सिपाही पक्राउ।

चितवन, साउन ८
चितवनमा ९ लाखका लागि आफ्नै साथीको हत्या गर्ने नेपाली सेनाका एक जना सिपाही पक्राउ परेका छन् ।

नेपाली सेनाको दि फेमस महिन्द्र दल गण शिवपुरीमा कार्यरत रहेका गंगाधर ढकालले सोही गणमा कार्यरत जवान भरत गुरुङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
हिजो बिहीबार बिहान भरतको शव भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडाडामा नहरमा फेला परेको थियो । ३६ वर्षीय भरत धादिङ निलकण्ठ नगरपालिका निवासी हुन् । भरतको टाउकोमा गोली लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओम अधिकारीले गंगाधरलाई हिजो भरतपुर १८ चनौलीबाट पक्राउ गरिएको जानकारी दिए ।

भरतलाई रक्सि खुवाएर गंगाधरले राति मोटरसाइकलमा डुलाएको र नहरमा पुगेपछि पिसाब फेर्ने बाहनामा झर्न लगाई गोली हानेर भागेको पाइएको एसपी अधिकारीले बताए ।

९ लाख रुपैयाँका लागि गङ्गाधरले आफ्नै साथिको हत्या गरेको पाइएको एसपी अधिकारीले बताए । भरतको बैंकमा रहेको रकम गंगाधरले किर्ते गरेर निकालेको र पैसा निकालेपछि भरतको हत्या गरेको पाइएको उनले बताए । भरतको बैंकबाट पैसा निकालेर गंगाधरले आफ्नो घरमा दिएको पाइएको र सो रकम समेत बरामद गरिएको एसपी अधिकारीले जनाए । घटनाबारे थप अनुसन्धान जारी रहेको उनले बताए ।