स्काउटमा  विकृती विसंगती तथा भ्रष्टाचार मौलाउदै गएको भन्दै स्काउट प्रगतिशिल संघर्ष समितिको भत्सर्ना

 श्रावण ४ ।

नेपाल स्काउट प्रगतिशिल संघर्ष समितिले नेपाल स्काउटका पछिल्ला गतिबिधीहरुको बिरोध गरेका छन ।
अयोग्य व्यक्तिहरुको नेतृत्वमा प्रदेश तदर्थ समिति र २०७८÷०१÷१५ नियमवली सार्वजनिक नै नगरि स्थानिय समिति बनाएको , स्काउटमा  विकृती विसंगती तथा भ्रष्टाचार मौलाउदै गएको नातावाद, कृपावाद तथा माफियातन्त्रको चंगुलमा नेपाल स्काउट फस्ने निश्चित भएको,पाँच सदस्य राष्ट्रिय तदर्थ समितिमा भौगोलिकता र क्षेत्रियतालाई लिएर समिति सदस्यहरुलाई होच्याउने, अन्य सदस्यहरुको अभिमतको कदर नगरी तानाशाही तवरले एकल सोचले निर्णय गराउने व्यवहार भएको लगाएतका अराजक क्रियाकलाप प्रती बिरोध गरेका हुन । नेपाल स्काउट प्रगतिशिल संघर्ष समितिले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै यस्ता व्यवहारले नेपाल स्काउटलाई थप बर्वादि तर्फ धकेल्ने भन्दै घोर आपत्ति जनाएको छ ।      

प्रेस विज्ञप्ती
मिति :२०७८/०४/०३
सम्पूर्ण पत्रकार मित्रहरु

स्काउट शुद्धिकरण तथा स्काउटमा सकारात्मक परिवर्तनका लागि २०६८ सालदेखि यस नेपाल स्काउट प्रगतिशिल संघर्ष समितिको निरन्तर सक्रियता रहेको छ । २०६८ सालमा श्री युवा तथा खेलकुद मन्त्रालय र यस संघर्ष समिति वीच वार्ता भइ आन्दोलनको कार्यक्रम स्थगन भएको तर २०७१ सालमा स्काउटमा परिवर्तनका निम्ति लडाई लड्दै गर्दा २१ दिनसम्मको आमरण अनसनको कार्यक्रम गर्न समेत हामी बाध्य भएका थियौं । फलस्वरुप मिति २०७१÷०२÷१९ गते श्री युवा तथा खेलकुद मन्त्रालय, नेपाल स्काउट र यस संघर्ष समिति बिच सम्झौता भएको थियो । हाल स्काउटमा पुनः विकृती तथा विसंगती मौलाउदै गएको अवस्थामा यस संघर्ष समितिले परिवर्तनकारी स्काउट सदस्यहरुलाई एकजुट गरि सकारात्मक परिवर्तनकालागि आवाज उठाउन सुरु गरेको छ ।

नातावाद, कृपावाद तथा माफियातन्त्रको चंगुलमा नेपाल स्काउट फस्ने निश्चित प्रायः भई सकेको कुरा हालको राष्ट्रिय तदर्थ समितिको संयोजकले गैर स्काउट तथा अमुक राजनितिक दलका कार्यकर्ताहरुको नेतृत्वमा गठन गरेको प्रदेश तथा स्थानिय समितिको नामावलीबाट प्रष्ट हुन्छ । पाँच सदस्य राष्ट्रिय तदर्थ समितिमा भौगोलिकता र क्षेत्रियतालाई लिएर समिति सदस्यहरुलाई होच्याउने, अन्य सदस्यहरुको अभिमतको कदर नगरी तानाशाही तवरले एकल सोचले निर्णय गराउने व्यवहारले नेपाल स्काउटलाई थप बर्वादि तर्फ धकेल्ने कुरा कसैले पनि नकार्न सक्दैन ।

नयाँ ऐन जारी भएको मितिले छ महिना भित्र निर्वाचन सम्पन्न गर्ने म्यान्डेड पाएको २२ महिना बितिसक्दा समेत निर्वाचन तर्फ ध्यान नदिएको अवस्थामा सो समितिको बैधानिकता समाप्त भई सकेको हाम्रो बुझाई छ । उक्त अबैधानिक समितिले विश्व स्काउटको आधारभूत सिद्धान्त तथा नेपाल स्काउट ऐन २०५० (संसोधन २०७५÷११÷१९) को दफा १८ (क) को धज्जी उडाउदै सच्चा स्काउटहरुलाई प्राथमिकता नदिई अमुक राजनैतिक दलको सदस्यहरुलाई हावी बनाउदै २०७७÷०७÷०६ गते नेपाल स्काउटको अधिकारिक फेसबुक पेजको एक बिज्ञप्ति मार्फत अयोग्य व्यक्तिहरुको नेतृत्वमा प्रदेश तदर्थ समिति र २०७८÷०१÷१५ नियमवली सार्वजनिक नै नगरिकन लुकाईएको नियमावलीको हवाला दिदैं स्थानिय समिति बनाएको प्रति हाम्रो घोर आपती छ ।

विगतमा हालको तदर्थ समितिद्वारा गरिएको रोभर मुट, बृहत तालिम तथा विज्ञापनको नाममा गरिएको खर्चको विवरण सार्वजनिक गर्न नसक्नुले हाल स्काउटमा भ्रष्टाचार मौलाउदै गएको जगजाहेर छ ।

नियमावली सार्वजनिक नै नगरि निर्वाचित जिल्ला स्काउट कार्य समितिहरुलाई समेत अबैधानिक करार गरिको छ । जिल्लाको संरचना भङ्ग गर्नुको प्रमुख उद्देश्य केवल भू–माफियाको चलखेल हो भन्ने आम स्काउटको बुझाई रहेको छ ।

नेपाल स्काउटको ऐन को दफा ७ को उपदफा ५ बमोजिम हरेक ४ वर्षमा हुनुपर्ने निर्वाचन विगत १० वर्षदेखि हुन नसक्नुमा कसैको व्यक्तिगत स्वार्थ लुकेको प्रष्ट बुझ्न सकिन्छ । होइन भने विगतका निर्वाचनहरुको अनुभव तथा विद्यमान ऐन अध्ययन गर्ने हो भने स्काउटमा निर्वाचन गर्न कहिँ कतै अवरोध छैन ।

हालको महामारीको समयमा लगभग सम्पूर्ण स्काउटर (स्काउट मास्टर) हरु पेशाबाट विस्थापित हुने अवस्थामा पुगी तनाबको अवस्थामा रहेको परिस्थितिमा नेपाल स्काउट, राष्ट्रिय तदर्थ समितिको क्रियाकलापले थप पिडा थपेको छ । स्काउटहरुको लागि हालको परिस्थितिमा राहत घोषणा गर्नु साटो थप तनाब सृजना गर्न नहुने हो ।
विद्यमान संकटबाट स्काउटलाई निकास दिने एउटा मात्र बाटो निर्वाचन हो । तसर्थ हालको नेपाल स्काउट, राष्ट्रिय तदर्थ समितिका संयोजकलाई वर्खास्त गरि वर्तमान राष्ट्रिय तदर्थ समिति विघटन गर्नुको विकल्प छैन । उक्त समितिलाई विघटन गरि युवाहरुको नेतृत्वमा निर्वाचन समिति गठन नै हालको निकास हो ।

स्काउटमा बर्सौदेखि सकृय रहेका स्काउटरहरु विशेषतः राष्ट्रिय प्रशिक्षक तथा सहायक राष्ट्रिय प्रशिक्षकहरुको भेलाबाट पारित गरि नियमावली तथा निर्देशिकाका आधारमा निर्वाचन समितिका सदस्यहरु चयन गर्नु पर्दछ भन्ने युवा स्काउटहरुको सुझाब रहेको छ । हामी सम्पूर्ण पत्रकार मित्रहरुसँग राज्यको ठुलो लगानी दुरुपयोग भई रहेको प्रति ध्यानाकर्षण गराउँदै सत्य, तथ्य समाचार संप्रेषण गरि खवरदारी गर्न र स्काउटिङको मौलिकता रक्षाका लागि सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ ।
सहयोग र सद्भावको अपेक्षा सहित ।
जय स्काउट ।

सम्पर्क : राजिब खत्री, (प्रवक्ता) सहायक राष्ट्रिय प्रशिक्षक, नेपाल स्काउट, ९८५१०३३५७२

पुण्यराम गोथे
संयोजक
नेपाल स्काउट प्रगतिशिल संर्घष समिति
सम्पर्क ः ९८४१३३४६९०