सुजिता भण्डारीको शव नजिकै विषादीको बट्टा र झोला भटियो


२१ असार, चितवन । सुजिता भण्डारीको शव भटिएको नजिकै विषादीको बट्टा र एउटा झोला भेटिएको छ । धानमा हाल्ने विषादीको बट्टा र एउटा झोला भेटिएको र सो झोलाको मृतककी दिदीले पहिचान गरेको चितवन प्रहरीले बताएको छ । झोला र विषादीको सम्बन्धका बारेमासमेत अनुसन्धान भैरहेको जानकारी पनि प्रहरीले दिएको छ ।

शव भरतपुर अस्पताल ल्याइँदैछ । शव भेटिएको ब्रम्हस्थानी सामुदायिक वनको जंगलमा मुचुल्का गरी शव निकालेर अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए । आइतबार साँझ शव भेटिएपछि रातभर प्रहरीले सुरक्षा दिएर शव राखेको थियो । अब शव भरतपुर अस्पतालको शव गृहमा राखेर अनुसन्धान गर्ने वा थप जाँचका लागि काठमाडौं पठाउने भन्ने बारेमा निर्णय गर्न बाँकी रहेको एसपी अधिकारीले बताए ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले युवती हराए लगत्तैदेखि केन्द्रीय अनुसन्धान ब्यूरोले घटनाबारे अनुसन्धान गरिरहेको बताए । उनले सुक्ष्म रुपमा त्रुटिरहित ढंगले सजगता अपनाउँदै प्रहरीले घटनाको अनुसन्धान गरिरहेको दाबी गरे ।असार ११ गते बिहान ६ बजे साथीको घर जान्छु भनेर निस्किएकी सुजिता आइतबार साँझ स्थानीय ब्रम्हस्थानी सामुदायिक वनमा मृत भेटिएकी हुन् ।उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् । शव गलेको अवस्थामा फेला परेको छ । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । जंगलमा च्याउ टिप्न गएका स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।