सुजिता भण्डारीको ९ दिन पछि जंगलमा शव भेटियो

२० असार, चितवन ।   चितवनको राप्ति नगरपालिकाबाट ९ दिन अघि देखि बेपत्ता भएकी सुजिता भण्डारीको शव भटिएको छ । सोहि नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा शव भेटिएको हो । आइतबार अपराह्न शव भेटिए पनि साँझ परिवारले पहिचान गरेका छन् ।
अन्तिम पटक भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अपहरण गरेको बताएकी थिइन् । सोहि अनुसार भण्डारीको अपहरण भएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
घटनाबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि खटिएको थियो ।
प्रहरीले भण्डारीको मोबाइलको कल डिटेल रेकर्ड (सीडीआर), सएमएस, म्यासेन्जरलगायतका सामग्री विश्लेषण गरे पनि कुनै सुराक भेटिएको थिएन । केही महिनाअघिसम्म एक युवकसँग सम्पर्क भएको देखिए पनि पछिल्लो समय कुनै कनेक्सन भेटिएको थिएन ।

तर आइतबार उनको शव भेटिएपछि घटनाले नयाँ मोड लिएको छ । चितवनका प्रहरुीका अनुसार हाल शवलाई घटनास्थलमै राखिएको छ । अहिले घटना स्थललाई घटनास्थल शिल गरेर राखेको र भोलि तालिम प्राप्त कुकुर र फरेन्सिक डाक्टर ल्याएर थप अनुसन्धान अघि बढाउने प्रहरीले बताएको छ ।

जंगलमा च्याउन टिप्न गएका स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । वनको बीचमा एउटा झ्याङमा अड्किएको अवस्थामा उनको शव फेला परेको छ । प्रहरीका अनुसार शव पानीले बगाएर ल्याएर लामो समयदेखि अड्काएको जस्तो देखिएको छ ।

भण्डारी असार ११ गते विहान ६ बजे साथीको घर जाने भनेर हिंडेकी थिइन् । उनी सोही दिनदेखि बेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ बजे आफ्नी दिदीलाई फोन गरेर अपहरणमा पारेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।