व्यवसाय सञ्चालनको बाताबरण बनाउन उवासंघ चितवनको प्रजिअ सङ्ग माग।

चितवन/उद्योग वाणिज्य संघ चितवनले ब्यापार व्यवसाय सञ्चालनको माग गरेको छ । उद्योग वाणिज्य संघ–चितवनले चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई ज्ञापनपत्र बुझाउंँदै निर्बाध रूपमा ब्यापार व्यावसाय संचालनको माग गरेको हो ।

संघले सोमबार प्रजिअलाई ज्ञापन पत्र बुझाउदै कोभिड १९ को दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञा उद्यमी व्यवसायीले पालना गरेको र हाल कोरोना संक्रमण दर घट्दो क्रममा रहेकोले आलोपालो गरी उद्यम,व्यवसाय सञ्चालनको व्यवस्था गर्न माग गरेको हो ।

संघका अध्यक्ष राजु श्रेष्ठले कोरोना संक्रमणको अवस्था लगायत अन्य विपद्को समयमा निजी क्षेत्रको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहि सरकारलाई सहयोग गर्दै आएको र आवश्यक परेको खण्डमा आगामी दिनमा पनि सहयोग गर्न तत्पर रहेको बताए । उनले उद्यम व्यवसाय ठप्प हुँदा व्यवसाय धराशायी पर्नुका साथे दिर्घकालमा राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर देखिने भन्दै व्यावसाय संचालनको माग गरे।

नयाँ भेरियन्ट सहितको दोश्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा असार १० गतेसम्म रहेको कारण असार ११ गते देखि स्वास्थ्य मापदण्ड पालना गर्ने गरि व्यवसाय सञ्चालनको व्यवस्था गर्न उनको माग छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले संघले तयार गरेको विषयगत तालिकालाई अध्ययन गरि निर्णय गरिने बताए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ,उपाध्यक्षत्रय सुमनकुमार श्रेष्ठ, चिरञ्जिवि सुवेदी भोजराज कौडाल र संघका कार्यकारी निर्देशक निलबहादुर केसीको उपस्थिति रहेको थियो ।