मूल्यवृद्धि आकासिदै !

काठमाडौं/दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ। अत्यधिक मूल्यवृद्धिका कारण उपभोक्ता खर्च धान्नै नसक्ने अवस्थामा पुगेका छन्। कोभिड १९ महामारीका कारण आयस्रोत गुमेर कमजोर बनेको क्रयशक्तिबीच नेपालीको भान्छा अचाक्ली महँगिएको छ। भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउ, हरियो तरकारी, कुखुराको मासु, खाना पकाउने ग्यासको भाउ उच्च परिमाणमा बढेको छ। यस्तै, पेट्रोल र डिजेलको मूल्य पटक–पटक बढेको छ।

गत वर्ष चैतको तुलनामा यसपटक मुख्य गरी हरियो तरकारीको मूल्य निकै बढेको छ। कालिमाटी तरकारी तथा फलफूल विकास समितिका अनुसार काउली, घिरौंला, घिउसिमी, भान्टा, लौकालगायत हरियो तरकारीको मूल्य वृद्धि भएको छ। प्याज र आलु भने केही सस्तिएका छन्।

किसानले पर्याप्त परिमाणमा खेती नगरेकाले उत्पादनमा कमी आई हरियो तरकारीको मूल्य वृद्धि भएको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए। ‘गत वर्ष यही समयमा स्वदेशी उत्पादन पर्याप्त भएको थियो’, अध्यक्ष घिमिरेले भने, ‘तर, कोभिड १९ को महामारी सुरु भएसँगै गरिएको लकडाउनका कारण उत्पादित तरकारीले बजार नपाउँदा खेतमै गाडेर नष्ट गर्नुपर्‍यो।’

घिमिरेका अनुसार किसानले कोभिड १९ को त्रास यथावतै रहेको भन्दै यो वर्ष तरकारी खेती कम परिमाणमा गरेका हुन्। ‘यसको प्रत्यक्ष प्रभाव बजार र उपभोक्ता मूल्यमा परेको छ। स्वदेशी उत्पादनमा कमी आउँदा केही प्रमुख तरकारीको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको हो’, घिमिरेले भने, ‘अहिले बजारमा भएका अधिकांश तरकारीमध्ये ५० प्रतिशत भारतबाट आयात गरिएको छ।’ यसबाहेक पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धिले ढुवानी खर्च बढेका कारण प्रभाव परेको उनको भनाइ छ।

कालिमाटी बजारमा अघिल्लो चैत २५ गते काउलीको भाउ प्रतिकिलो २२ रुपैयाँ थियो। यसपटक ५५ रुपैयाँ पुगेको छ। ४५ रुपैयाँ प्रतिकिलो बिक्री भएको घिरौलाको मूल्य १ सय १० पुगेको छ। २७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको घिउ सिमीको मूल्य १ सय १५ पुगेको छ। २२ रुपैयाँ प्रतिकिलो बिक्री भएको भान्टा र ३७ रुपैयाँ प्रतिकिलो बिक्री भएको लौका मूल्य क्रमश ः ३५ र ५५ रुपैयाँ पुगेको छ।

अनामनगर बस्ने मलंगवाकी सविता खनालले भान्छाको खर्च बढेर काठमाडौंमा टिक्नै नसक्ने अवस्थामा पुगेको बताइन्। कोभिडका कारण आयस्रोत खुम्चिएको अवस्थामा खाद्यान्न, तरकारी, खाने तेल, इन्धन र ग्यासको मूल्यवृद्धिले काठमाडौंबाट विस्थापित हुने अवस्थामा पुगेको खनालको भनाइ छ।

उनका अनुसार खुद्रा व्यापारीले तरकारीको मूल्य प्रतिकिलो १ सय रुपैयाँभन्दा बढी राखेका छन्। कालिमाटी बजारको मूल्यभन्दा महँगोमा खुद्रा व्यापारीबाट हरियो तरकारी खरिद गर्नुपरेको उनले सुनाइन्। खुद्रा व्यापारीले प्रतिकिलो काउली ८०, घिरौला १ सय २५, घिउ सिमी १ सय ३०, भान्टा ६०, परवल १ सय, लौंका ७०, करेला १ सय २० रुपैयाँमा बिक्री गरिरहेको उनले बताइन्।

खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले चामल, भटमास र सनफ्लावरको तेल तथा केराउको मूल्य बढेको बताए। श्रेष्ठका अनुसार तिहारअघि प्रतिलिटर २ सय १० मा पाइने भटमास तेलको मूल्य २ सय २५ सम्म पुगेको छ। यस्तै २ सय २० रुपैयाँ रहेको सनफ्लाबर तेलको मूल्य २ सय ५० सम्म पुगेको छ। सबै प्रकारको चामलमा प्रतिबोरा ५० देखि १ सय रुपैयाँसम्म भाउ बढेको श्रेष्ठले बताए। यस्तै ७० रुपैयाँमा पाइने केराउको मूल्य १ सय ५० पुगेको छ।

उनका अनुसार तेलको कच्चा पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा अत्यधिक बढेको छ। जहाजमा कन्टेनरमार्फत ल्याउँदा ढुवानी भाडासमेत वृद्धि हुँदा भटमास र सनफ्लावरको तेल महँगो भएको हो। ‘यसमा केही स्वदेशी उद्योगीले पनि फटाही गरेका कारण मूल्य बढ्दै गएको छ’, उनले भने।

संघका अनुसार भारतमै चामल उत्पादनमा कमी र भारतले भियतनामबाट महँगोमा आयात गरेकाले नेपालमा पनि त्यसको प्रभाव परेको छ। नेपालमा धान उत्पादन भए पनि अधिकांश उपभोक्ताले प्रयोग गर्ने भारतबाट आयातित चामल हो। ढुवानी खर्च बढ्दा त्यसको प्रभाव पनि चामललगायत उपभोग्य वस्तुमा परेको उनको भनाइ छ।

सरकारले गत वर्ष चैत २४ मा निकासी पैठारी (नियन्त्रण) ऐनअनुसार वस्तु आयातमा लगाएको बन्देजका कारण केराउको मूल्य बढ्दै गएको हो। सरकारले केराउ, सुपारी, छोकडा र नधुल्याएको मरीच आयातमा प्रतिबन्ध लगाएको थियो। सरकारले सीमित परिमाणमा आयात गर्न पाउने गरी प्रतिबन्ध फुकुवा गरेको छ।

कुखुराको मासु प्रतिकिलो ४ सय नाघ्यो

कुखुराको मासुको उपभोक्ता मूल्य गत सातासम्म प्रतिकिलो ३ सय ९० रुपैयाँ थियो। अहिले ४ सयदेखि ४ सय ३० सम्म पुगेको छ। राष्ट्रिय कुखुरा व्यवसायी संघले गत मंगलबारदेखि जिउँदो कुखुरा र मासुमा जनही प्रतिकिलो १०-१० रुपैयाँ बृद्धि गरेको छ। संघले मासुको उपभोक्ता मूल्य ४ सय रुपैयाँ तोकेको छ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघका अध्यक्ष जंगबहादुर बीसीका अनुसार जिउँदो कुखुराको किसान मूल्य प्रतिकिलो २ सय ९० रुपैयाँ छ। जिउँदो कुखुरा र मासुको मूल्य हालसम्मकै सबैभन्दा उच्च बिन्दुमा पुगेको बीसीले बताए।

अघिल्लो बर्ष यो समय लकडाउन थियो। त्यही कारण ह्याचरी संघले ठूलो परिमाणमा अन्डा, चल्ला र कुखुरा नष्ट गरेको थियो। कोभिड १९ को संक्रमणपश्चात प्यारेन्ट कुखुराको आयात रोकिएका कारण उत्पादनमा कमी आएको बीसीले बताए। उत्पादन भएका कुखुरा पनि बर्डफ्लुलगायत विभिन्न रोगबाट मर्ने क्रम सुरु भएकाले उपभोक्ता मूल्य वृद्धि भएको संघले जनाएको छ।

इन्धनको मूल्य अत्यधिक

उत्पादनदेखि ढुवानी र उपभोक्ताको भान्छासम्म प्रभाव पार्ने पदार्थ हो, इन्धन। इन्धनतर्फ पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य पनि अत्यधिक बढेको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा इन्धनको मूल्यवृद्धि भएको आधारमा नेपाल आयल निगमले गत आइतबार रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १ सय २०, डिजेल र मट्टीतेलको मूल्य १ सय ३ रुपैयाँ तोकेको थियो। यसअघि पेट्रोलको मूल्य १ सय १८ र डिजेलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ थियो। हाल प्रतिसिलिन्डर ग्यासको मूल्य १ हजार ४ सय रुपैयाँ छ।

अघिल्लो बर्ष चैतमा पेट्रोलको मूल्य प्रतिलिटर ९६ थियो। यस्तै, डिजेल प्रतिलिटर ८५ र खाना पकाउने प्रति सिलिन्डरको मूल्य १ हजार ३ सय ७५ रुपैयाँ थियो। पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल प्रति ब्यारेलको मूल्य करिब ६५ अमेरिकन डलर पुगेको थियो।

सरकारले इन्धनबापत विभिन्न शीर्षकमा असुल गर्ने करको दायरा घटाउन सकेको खण्डमा आम उपभोक्ताले केही सस्तो मूल्यमा इन्धन उपभोग गर्न सक्ने विज्ञहरूले औँल्याएका छन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ।