दलित पत्रकार संघको अध्यक्षमा विनोद पहाडी

बुटवल/राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाविधेशनले विनोद पहाडीलाई अध्यक्षमा चयन गरेको छ । बुटवलमा फागुन २८ देखि सुरु भएको महाधिवेशनले दुई वर्षे कार्यकालका लागि पहाडीको नेतृत्वमा ४१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

तीन दशक देखि पत्रकारितामा संलग्न पहाडी संविधान सभा सदस्यसमेत हुन् । संघको वरिष्ठ उपाध्यक्षमा गोपाल बराइली,उपाध्यक्ष (महिला) मा कमलाकुमारी विक, उपाध्यक्षमा मिलन परियार तथा प्रदेश उपाध्यक्षहरुमा पर्वत पोर्तेल (१),भोला पासवान (२), बुद्धि विश्वकर्मा (बागमती), दीपक परियार (गण्डकी), विनोद परियार (लुम्बिनी),टेकेन्द्र विश्वकर्मा (कर्णाली) र करण ताम्राकार (सुदूरपश्चिम) चयन भएका छन् ।

संघको महासचिवमा लक्ष्मण दर्नाल,सचिवहरुमा सन्तोष गन्धर्व,बिरु नेपाली, शिकेन्द्र पासवान र रिता बुढाथोकी तथा कोषाध्यक्षमा भिम घिमिरे चयन भएका छ ।

महाधिवेशनमा संघले टिआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ बाट कलेन्द्र सेजुवाल र बृजलाल पासवान, देवब्रत परियार स्मृति पुरस्कार रुपन्देहीकी मिना ढकाल, राममाया च्यामे लोक पुरस्कार विष्णु निष्ठुरी,परशु सवरी पत्रकारिता पुरस्कार मानसिंह विश्वकर्मा र राम सोवि सामाजिक पत्रकारिता पुरस्कार प्रेम सुनारलाई प्रदान गरेको छ । यस्तै लोकदोहोरी गायक राजु परियार र गायिका पूर्णकला बि सी लगायतका कलाकारलाई पनि संघले सम्मान गरेको छ ।

देशभरबाट करिव ४ सय भन्दा बढि पत्रकारहरुको सहभागिता रहेको महाधिवेशनमा ‘आमसञ्चार र समावेशिताको सवाल’, ‘मिडियामा महिला र दलित महिला’ र ‘दलित आन्दोलन युवा र आम सञ्चार’ विषयमा छुटाछुट्टै कार्यशाला गोष्ठी समेत भएको थियो ।

संघको हालसम्म ६५ जिल्ला शाखा, ७ प्रदेश र काठमाडौँ उपत्यका समितिहरु क्रियाशील रहेका र देशभर झण्डै १५ सय भन्दा बढि दलित समुदायका पत्रकारहरु आवद्ध भइसकेका संघका अध्यक्ष पहाडीले बताउनु भयो । संघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सामाजिक न्याय, समावेशी विकासका साथै सूचनाको हक कार्यान्वयनको सवालमा भूमिका खेल्ने उहाँको भनाइ छ। महाधिवेशन पूर्व प्रधानमन्त्री तथा ए नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घघाटन गर्नु भएकाे थियोे । उक्त महाधिवेशन १३ बुँदे घाेषणापत्र जारी गर्दै आज समापन भएको छ ।