सरकार र विप्लव नेतृत्वको विद्रोही नेकपा बीच वार्ता हुने, बादल र प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन।

सूर्य बराल/चितवन/नेपाल सरकार र नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको विद्रोही नेकपा बीच वार्ता हुने भएको छ। वार्ताको सम्भावना बढ्दै गएसँगै दुवै पक्षले वार्ता टोली गठन गरेका छन्। सरकारको तर्फबाट गृह मन्त्री राम बहादुर थापा बादल र विद्रोहीको तर्फबाट सो पार्टीका प्रवक्ता प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन भएको हो।
सरकारले विप्लव नेतृत्वको नेकपा सँग वार्ता गर्नका लागि बादलको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको हो ।

गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका छन् ।

प्रवक्ता गुरुङले वार्ता टोलीको घोषणा गर्दै सबै समस्या वार्ताबाटै हुने बताए। उनले प्रतिबन्धको फुकुवा पनि वार्ताकै प्रक्रियामा हुने जानकारी दिए ।

यता विप्लव नेकपाले सरकार संग वार्ताका लागि पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खडक बहादुर विश्वकर्मा (प्रकाण्ड)को नेतृत्वमा वार्ता टोली बनाउने निर्णय गरेको छ ।

प्राप्त सुचना अनुसार विप्लव समुहको तर्फबाट प्रवक्ता प्रकाण्डको नेतृत्वमा दीपक चलाउने सदस्य रहेको वार्ता टोली गठन गरेको स्रोतले जनाएको छ।