अटो मोबाइल सम्बन्धि प्राविधिक विद्यालय आवश्यक ।

चितवन/देशमा अटो मेकानिक्स जनशक्ति उत्पादन गर्ने प्राविधिक विद्यालय आवश्यक रहेकोमा अटो व्यवसायिहरुले जोड दिएका छन् । शनिवार भरतपुरमा सम्पन्न चितवन अटो मेकानिकल व्यवसायी संघको २०औँ साधारणसभा एवं दशौँ अधिवेशन कार्यक्रममा अटो मेकानिकल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष गोपाल भट्टराई लगायतका वक्ताहरुले अटो मोबाइल सम्बन्धि प्राविधिक विद्यालय आवश्यक भएको बताएका हुन् ।

चितवनमा अझै पनि दक्ष अटो मेकानिक्सको अभाव रहेको भन्दै भट्टराईले चितवनमा अटो मोबाइल्स सम्बन्धि प्राविधिक शिक्षालय बनाउनुपर्नेमा जोड दिएका हुन् । त्यस्तै व्यावसायीहरुले भरतपुरको नारायणगढमा निर्माण हुने भनिएको अटो ल्याण्ड तत्काल निर्माण हुनुपर्नेमा समेत जोड दिएका छन् । व्यवसायीहरुले अटो ल्याण्ड निर्माणको प्रकृया रोकिएको भन्दै तत्काल काम अगाडि बढाउन माग गरेका हुन् । संघका सदस्य रामबहादुर लोहनीले नारायणगढमा निर्माण हुने अटो ल्याण्ड निर्माणको प्रकृयामा सबैले सहयोग गर्नुपर्ने बताए।

साधारणसभा उद्घाटनका क्रममा अध्यक्ष लोहनीले अटो ल्याण्ड निर्माण भएको अवस्थामा व्यवसायी तथा सेवाग्राही सबैलाई सहज हुने उनको भनाई थियो। सो कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठले अटो ल्याण्ड निर्माणको प्रकृयाको बारेमा आफू सकारात्मक रहेको भन्दै अटो ल्याण्डको काम अगाडि बढाउनका लाग भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।

साधारण सभाका क्रममा अटो मोबाइल्स व्यवसायीका छोराछोरीमध्येबाट स्नातकोत्तर तह उत्तीर्ण गर्ने चार जनालाई सम्मान समेत गरिएको थियो ।त्यसैगरी, चितवन अटो मेकानिकल व्यवसायी संघको संस्थापक कार्यसमिति एवं पूर्वअध्यक्षहरुलाई आजीवन सदस्यको सदस्यता प्रदान गरिएको थियो।

कार्यक्रममा नेपाल अटो मेकानिकल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष यमप्रसाद भुसाल, उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, सिप्रदी अटो पार्टसका महा प्रबन्धक युवराज बुढाथोकी, पुरानो नारायणी यातायात व्यवसायी संघका उपाध्यक्ष अशोक पोखरेललगायतले मन्तव्य राखेका थिए। संघको १०औँ अधिवेशनले एक जना अध्यक्षसहित १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।