पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा झाँकी सहितको पदयात्रा

भरतपुर/२७ पुस/राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसर पारेर चितवनमा झाँकी सहितको पदयात्रा निकालिएको छ ।

केन्द्रीय बस ट्रमिनलबाट निस्केको पदयात्रा हाकिमचोक
चौविसकोठी–मालपोत चोक–हुलाकचोक हुदै पुनः बस ट्रमिनल पुगेको थियो । पदयात्रामा राजसंस्था, हिन्दुराष्ट्रको पक्षमा नारा लगाइएको थियो । पदयात्रामा थारु, तामाङ, मगर लगायतका जातजातीको सांस्कृतिक झाँकी निकालिएको थियो ।

पञ्चैबाजाको समूह समेत पदयात्रामा सहभागि बनेको थियो । राप्रपा चितवनले आयोजना गरेको सो कार्यक्रममा विभिन्न धार्मिक संघसंस्था तथा राष्ट्रवादी समूहले एक्यवद्धता जनाएका थिए ।

बस ट्रमिनलमा भएको पृथ्वीजयन्ती सभामा बोल्ने वक्ताहरुले पृथ्वी नारायण शाहको एकीकरण अभियानको चर्चा गर्दै वर्तमान अवस्थाप्रति रोष प्रकट गरेका थिए।

राप्रपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद रिना गुरुङले “पृथ्वीनारायण शाहले एक गरेर बनाएको सुन्दर नेपाललाई ७ चिरा पार्ने काम भएको छ”, भन्दै, “जनताले करको भार, गरिबी मात्र पाए भन्दै नेकपाको वर्तमान सरकारको विरोध गरिन।”

राप्रपाका बागमती प्रदेश सदस्य ज्ञानजंग लामा,राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकाल, शाही शक्ति नेपाल भरतपुरका अध्यक्ष सहुलमियाँ अन्सारी लगाएतका वक्ताहरुले मन्तब्य राखेको थिए।

कार्यक्रममा प्रमुख वक्ताका रुपमा राप्रपाका बरिष्ठ नेता तथा पूर्वमन्त्री विक्रम पाण्डे सहभागि हुने भनिएपनि प्रतिकुल मौसमका कारण आउन नसकेको राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले जानकारी दिए।