राष्ट्र बैंकको अनुसन्धान रिपोर्टस् पुरानो लयमा फर्कन नौ महिना लाग्ने

कोरोना भाइरसको महामारी (कोभिड–१९) का कारण प्रभावित भएका उद्योग, व्यवसाय सामान्य अवस्थामा फर्कन औसतमा नौ महिना लाग्ने एक अध्ययनले देखाएको छ।

नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार यस्तो तथ्य फेला परेको हो। कोभिड–१९ का कारण पुगेको असरमा केन्द्रित रहँदै राष्ट्र बैंकले ५२ जिल्लाका ६ सय ७४ उद्योगी, व्यवसायीसँग जेठ २६ देखि असार १० सम्म अनलाइन सर्वेक्षण गरेको थियो।

बुधबार सार्वजनिक गरिएको राष्ट्र बैंकको सर्वेक्षणमा सामान्य अवस्थामा फर्कन सबभन्दा ढिलो रियल स्टेट, व्यवसायिक क्रियाकलाप, होटल तथा रेष्टुरेन्टलाई लाग्ने देखिएको छ। ती क्षेत्र कोराना सुरु हुनुभन्दा अघिको अवस्थामा पुग्न १३ महिना बढी लाग्ने सर्वेक्षणले छ।

त्यस्तै निर्माण क्षेत्रलाई करिब १० महिना, कृषि तथा मत्स्यपालन नौ महिनापछि सामान्य अवस्थामा फर्कनेछन्। कोभिड–१९ फैलन थालेपछि सरकारले चैत ११ देखि लकडाउन लगाउने निर्णय गरेको थियो। लकडाउनले उद्योग, व्यवसाय तथा श्रमिक समस्यामा पर्न थालेपछि असार १ देखि लागू हुने गरी हटाइएको थियो।

स्वास्थ्य तथा सामाजिक कार्यसँग सम्बन्धित क्षेत्र साढे पाँच महिनापछि र सञ्चार क्षेत्र पाँच महिनामा सामान्य अवस्थामा फर्कन सक्ने राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ।

लगानीको हिसाबले ठूला र मझौला उद्योग, व्यवसायमा कोभिड–१९ को असर बढी देखिएको छ। घरेलु उद्योग आठ तथा लघु उद्यम र साना खुद्रा व्यापारलाई सामान्य अवस्थामा फर्कन साढे आठ महिना लाग्नेछ।

५० करोड रूपैयाँ माथि स्थिर पुँजी भएका नौ महिनामा, १५ करोड रूपैयाँसम्म स्थित पुँजी हुनेलाई साढे नौ महिना र १५ देखि ५० करोड रूपैयाँ स्थिर पुँजी भएका उद्योग, व्यवसायलाई लकडाउनअघिको अवस्थामा पुग्न आठ महिना लाग्ने सोही अध्ययनले देखाएको छ।

स्वास्थ्य तथा सामाजिक कार्यसँग सम्बन्धित क्षेत्र साढे पाँच महिनापछि र सञ्चार क्षेत्र पाँच महिनामा सामान्य अवस्थामा फर्कन सक्ने राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ।

सर्वेक्षणमा सात वटै प्रदेशका उद्योगी, व्यवसायी सहभागी भए पनि सबभन्दा बढी बाग्मती प्रदेशका उत्तरदाता सहभागी थिए। सर्वेक्षणमा सहभागी उत्तरदातामध्ये बाग्मती प्रदेशका उद्योगी, व्यवसायी २३.३९ प्रतिशत थिए। त्यस्तै पुरुष एकल स्वामित्व भएका ८१ र महिला व्यवसायी १७.६ प्रतिशत सहभागी थिए।

२२ प्रतिशत कामदार कटौती
सर्वेक्षणमा सहभागी उत्तरदाताले दिएको जानकारी अनुसार कोभिड–१९ का कारण २२ प्रतिशत कामदार कटौतीमा परेका छन्। कटौतीमा परेकामध्ये दुई तिहाई अस्थायी÷करारमा रहेका कामदार हुन्। कटौतीमा पर्नेमध्ये सबभन्दा बढी कर्मचारी होटल तथा रेष्टुरेन्ट क्षेत्रका हुन्। अध्ययन अवधिमा घरेलु उद्योग र लघु उद्यम तथा साना खुद्रा व्यापारीले पनि अन्यको तुलनामा धेरै कामदार कटौती गरेका छन्।

सर्वेक्षणमा सहभागीमध्ये लकडाउनको बेला चार प्रतिशत उद्योग, व्यवसाय मात्र पूर्ण रूपमा सञ्चालनमा थिए। ३७ प्रतिशत आंशिक र ६१ प्रतिशत उत्तरदाताले उद्योग, व्यवसाय पूर्ण रूपमा बन्द गरेको जवाफ दिएका छन्।

लकडाउनको अवधिमा सर्वेक्षणमा सहभागी साढे ७३ प्रतिशतले उत्पादन र कारोबार घटेको बताएको राष्ट्र बैंकले जनाएको छ। सर्वेक्षणमा सहभागीमध्ये ७४ प्रतिशत व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट र साढे आठ प्रतिशतले बचत तथा ऋण सहकारी संस्थाबाट कर्जा लिएको पाइएको छ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले सर्वेक्षणमा सहभागीमध्ये अधिकांशले अनलाइनमा खुला रूपमा राखिएको प्रश्नावलीको उत्तर दिएको बताए। ‘सर्वेक्षणमा सबै क्षेत्रको सहभागिता होस् भनेर केहीलाई जानकारी गराएरै भए समेटेका छौं,’ उनले भने।

सर्वेक्षण असार १० सम्मको भएकाले यसमा देखिएका कैयन समस्या मौद्रिक नीतिमार्फत सम्बोधन गरिसकेको उनले जानकारी दिए। ‘कोरोना महामारी पुनः फैलियो भने त केही भन्न सकिँदैन, नत्र असार १० सम्मको समस्या समाधान गर्न सर्वेक्षण उपयोगी भयो,’ भट्टले भने, ‘जसले गर्दा अर्थतन्त्र उकास्न सहयोग पुग्ने अपेक्षा गरेका छौं।’ नागरिक दैनिकबाट