लापरवाहीले फैलियो कोरोना

विराटनगर /सरकारले लकडाउन खुल्ला गरेको एक सातामा प्रदेश १ मा दैनिक संक्रमित बढ्न थालेका छन्। सोमबार प्रदेश १ मा हालसम्मकै सबैभन्दा बढी ५७ जना संक्रमित थपिए। प्रदेश १ का मुख्य न्यायाधिवक्ता र उनका परिवारमा समेत संक्रमण देखिएको छ। लकडाउन खुलेको एक सातामा कोरोना संक्रमण मुख्य सहरसँगै अस्पताल, प्रहरी र प्रदेशका उच्च पदस्थ व्यक्तिसम्म पुगेको स्विकार्छन् प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे। ‘लकडाउन खुलेपछि सुरक्षा अपनाउने थोरै भए, जसको कारण संक्रमण छिटो सरेको हो’, उनले भने।

लकडाउनका बेला विदेशसहित अन्यत्रबाट ल्याएर क्वारेन्टाइनमा राखिएकामा संक्रमण देखिने गरेको भए पनि अहिले प्रहरी, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी र अन्यमा पनि संक्रमण देखिन थालेपछि संक्रमण रोक्न चुनौती थपिएको मन्त्री घिमिरे बताउँछन्। ‘संक्रमण रोक्ने मुख्य जिम्मेवार नागरिककै हो, सचेत बन्नुपर्‍यो, स्थानीय तहलाई पनि लकडाउनसहितको अधिकार दिएर संक्रमण रोक्न प्रयास गरेका छौं, उनी भन्छन् ‘अब नागरिकनै बढी होसियार बन्नुपर्छ।’

लकडाउन खुला भएपछि मास्क नलगाउने र सामान्य अवस्थाझैं सामाजिक दूरी कायम नहुँदा संक्रमण फेरि बढेको विज्ञहरू बताउँछन्। हाटबजार, सवारीसाधन, र अस्पतालसँगै भीडभाड हुने स्थानबाट फेरि संक्रमण फैलिएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख तथा कोभिड अस्पताल इन्चार्ज प्राडा सञ्जीवकुमार शर्मा बताउँछन्।

मुख्य सहरमा बढी संक्रमित

प्रदेश १ का पहाडी जिल्लाभन्दा तराईमा संक्रमण फैलिएको छ। हालसम्म मोरङमा सबैभन्दा धेरै ३ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ। झापामा ३ सय ७० र सुनसरीमा १ सय ४५ जनामा संक्रमित रहेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कोरोना सूचना डेस्कले जनाएको छ। सुरुआतमा सबैभन्दा बढी संक्रमित भेटिएको उदयपुरमा ९० जना संक्रमित छन् भने सबैभन्दा थोरै संखुवासभामा ५ जना छन्।

विराटनगरमा बाक्लो संख्यामा संक्रमित भेटिएका विराटनगर महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए। ‘कोरोना समाजमा नै फैलियो, पुनः गरिएको लकडाउनले केही घटाउला भन्ने आशा छ,’ उनले भने। झापामा भारतबाट नेपाल भित्रिएका संक्रमित धेरै छन्। उनीहरूको सम्पर्कमा आएका र सुरक्षाकर्मीमा संक्रमण देखिएको छ। संक्रमितको हिस्ट्री खोज्दा भारत र अन्य मुलुकबाट आएकाको सम्पर्कमा भएका केही बाहेक सबै क्वारेन्टाइनमा संक्रमित भेटिएका झापाका प्रहरी प्रमुख कृष्ण कोइरालाले जानकारी दिए।

संक्रमणको दोष एकअर्कालाई

प्रदेश १ मा कोरोना संक्रमण समुदायसम्म पुग्नुको दोष प्रदेश र स्थानीय सरकार एकअर्कालाई लगाउँछन्। स्थानीय तह प्रदेशले समयमा लकडाउन नगर्दा र पीसीआर परीक्षणको दायरा प्रदेशले नबढाएको स्थानीय तहका जनप्रतिनिधिको आरोप छ। यो तर्कको खण्डन गर्दै सामाजिक विकासमन्त्री घिमिरले भने, ‘स्थानीय तहले पनि समयमा समन्वय गर्नपर्छ, प्रदेश सरकारले सबैतिर ध्यान पुर्‍याउन खोजेकै छ।’

प्रदेश सरकारले महानगरसँग समन्वय नगरी कोसी अस्पतालमा रकम तिरेर पीसीआर परीक्षण गर्न दिँदा समुदायसम्म संक्रमण पुगेको विराटनगर महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीको बुझाइ छ।

‘परीक्षण गर्नेको तथ्यांक राखिएन, पोजेटिभ आए पछि मात्रै महानगरलाई जानकारी दिँदा खोज्दाखोज्दै समाजमा फैलिसकेको हुन्छ, समयमा समन्वय भएन, लकडाउन गर्न पनि समयमा दिइएन’, उनले भने। कोरोना संक्रमितको संख्या बढ्न थालेपछि विराटनगर, झापाको बिर्तामोड र अर्जुनधारामा लकडान गरिएको छ। अन्नपूर्णपोष्ट दैनिकबाट