ओलीसँग मिलेर अघि बढ्न प्रचण्डलाई दबाब

काठमाडौं/नेकपामा पूर्वमाओवादीतर्फका आधा जति स्थायी कमिटी सदस्यहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर अघि बढ्न दबाब दिएका छन् ।

दुई अध्यक्षबीच विगत केही समयदेखि सम्बन्ध चिसिँदै आएको छ । अध्यक्ष प्रचण्डले आफू निकट असन्तुष्ट नेताहरूसँग गरेको छलफमा ती नेताहरूले पार्टी एकता जोगाउन अध्यक्ष ओलीसँग मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । उनीहरूले दुई अध्यक्षबीचको एकताले नै पार्टी मजबुत हुने भन्दै सोहीअनुसार अघि बढ्न अध्यक्ष प्रचण्डलाई सुझाएका हुन् ।

आफ्नै नेताहरूबाट दबाबमा परेका अध्यक्ष प्रचण्डले पनि आफू पार्टी एकता जोगाउन लचिलो बनिरहेको बताउँदै पार्टी एकताको रक्षा गरिने जनाएका छन् । अध्यक्ष प्रचण्डले आफू निकटका असन्तुष्ट नेताहरूलाई आश्वस्त पार्न खोजे पनि उनीहरू आश्वस्त हुन सकेका छैनन् ।

पूर्वमाओवादीका असन्तुष्ट स्थायी समिति सदस्यहरूले ओलीसँग मिलेर अघि नबढ्दा पार्टी एकता कमजोर हुन सक्ने भन्दै दुई अध्यक्ष मिल्न नसक्ने अवस्था भएमा आफूहरूले साथ दिन नसक्ने बताएका छन् ।

अध्यक्ष दाहालले पूर्वमाओवादीतर्फका स्थायी कमिटीका सदस्य जनार्दन शर्माको पहलमा स्थायी कमिटीका सदस्यहरू टोपबहादुर रायमाझी, मणि थापा, देवेन्द्र पौडेल, हरिबोल गजुरेल, चक्रपाणि खनाल लगायतका नेतासँग गरेको छलफलका क्रममा उनीहरूले अर्का अध्यक्ष ओलीसँगै मिलेर अघि बढ्न दबाब दिएका हुन् ।

‘हामीले पार्टी एकता जोगाउन पहल गर्नुहोस् भन्यौं,’ छलफलमा सहभागी एक स्थायी कमिटी सदस्यदले भने, ‘उहाँले म प्रयत्न गरिरहेको छु, तपाईंहरूले पनि हौसला दिनुहोस् भन्नुभयो ।’

पार्टी एकता महाधिवेशनसम्म अध्यक्षद्वय ओली र दाहाल मिलेर नै अगाडि बढ्नुपर्ने सुझाव दिँदै ती सदस्यहरूले अहिलेको विवाद पनि दुवै अध्यक्षले मिलेर समाधान गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ तथा अन्य स्थायी कमिटी सदस्य लेखराज भट्टलगायतले पनि अध्यक्ष प्रचण्डले ओलीसँगै मिलेर अघि बढ्नुपर्ने धारणा राख्दै आइरहेका छन् ।

पूर्वमाओवादीका असन्तुष्ट स्थायी समिति सदस्यहरूले ओलीसँग मिलेर अघि नबढ्दा पार्टी एकता कमजोर हुन सक्ने भन्दै दुई अध्यक्ष मिल्न नसक्ने अवस्था आएमा आफूहरूले साथ दिन नसक्ने बताएका छन् ।

उता, नेकपामा विवाद झन्झ्न पेचिलो बन्दै गइरहँदा दुई अध्यक्षबीच केही दिनदेखि संवाद हुन सकेको छैन । पछिल्लो पटक प्रधानमन्त्री तथा अध्यक्ष ओलीले स्थायी कमिटी बैठक स्थगित गरे पनि अर्का अध्यक्ष प्रचण्डले भेलाका रूपमा बैठक गरेपछि दुई अध्यक्षबीच सम्बन्ध चिसिँदै आएको हो ।

१३ साउनमा प्रचण्ड–नेपाल समूहले एकतर्फी रूपमा बैठक राखे पनि बैठकले अन्ततः अध्यक्ष दाहाललाई अर्का अध्यक्ष ओलीसँग संवाद गरी विवाद मिलाउने जिम्मेवारी दिएको थियो तर त्यसयता दुई अध्यक्षबीच संवादविहीनताको स्थिति आएपछि नेकपामा अन्योल बढेको हो । स्थायी कमिटीको बैठक पनि अनिश्चित बनेको छ ।

नेकपा अध्यक्षद्वय ओली र दाहालका साथै वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल आ–आफ्नै अडानमा अडिग छन् । ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने दाहाल–नेपाल समूहको अडान छ । तर, दुवै पदबाट राजीनामा नदिने र जस्तोसुकै परिस्थितिको पनि सामना गरेर अघि बढ्ने अडानमा ओली छन् ।

यसैबीच अध्यक्ष दाहालले महासचिव विष्णु पौडेलमार्फत अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई विवादको समाधान निस्कने गरी छलफलमा बस्न प्रस्ताव गरेका छन् । नेकपा स्रोतका अनुसार दाहाल निवास खुमलटारमा बिहीबार महासचिव पौडेललाई बोलाएर उनले यस्तो प्रस्ताव गरेका हुन् ।

‘विवाद समाधान हुने गरी परिणाममुखी छलफल होस् भन्ने प्रस्ताव दाहालको छ,’ खुमलटार स्रोतले भन्यो, ‘तर उता ९ओली०बाट भेटघाटको कुनै खबर आएको छैन ।’

यही विवादबीच पछिल्लो समय उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे प्रस्ताव ल्याएका थिए । उपाध्यक्ष गौतमले पार्टीभित्रको विवाद समाधानका लागि आफूले ६ बुँदे प्रस्ताव ल्याएको र यसले पार्टी एकता बलियो बनाउन सकिने बताउँदै आएका छन् ।

नेकपा वरिष्ठ नेता झलनाथ खनालले नेतृत्व सचिएर अगाडि नबढे बैठक धेरै दिन रोक्न नसकिने बताए । पार्टीभित्र विवाद भए त्यसको समाधान बैठकमा छलफल गरेर गर्न सकिने बताउँदै उनले दुई–चार दिन अझै पर्खिने र त्यसपछि बैठक बोलाउनुको विकल्प नभएको बताए ।

नेकपा स्थायी कमिटीका सदस्य सत्यनारायण मण्डलले आपसी संवाद हुनुपर्ने बताउँदै विवाद समाधानका लागि अध्यक्षद्वय ओली र दाहाल बढी जिम्मेवार हुनैपर्ने बताए । कुनै पनि विवादको समाधान छलफलबाट गर्न सकिने बताउँदै उनले नेतृत्वले पार्टीको विवाद समाधान गरेर पार्टी एकता जोगाउनेमा उनले विश्वास व्यक्त गरे । राजधानी दैनिकबाट