लकडाउनको कारण बैंकको ४० अर्ब ब्याज उठेन

काठमाडौं/असार मसान्तमा उठ्नुपर्ने वाणिज्य बैंकहरूको ब्याज आयमध्ये करिब ४० अर्ब रुपैयाँ असुली भएन । यो आर्थिक वर्षको अन्त्यमा असुली हुनुपर्ने कुल ब्याज आयको ५० प्रतिशतभन्दा बढी भएको जनाइएको छ ।

कोभिड९–१९ को जोखिमबाट प्रभावित ऋणीले चैतदेखि ऋणको साँवा–ब्याज तिरेका छैनन् । सुरुमा चैतमा तिर्नुपर्ने साँवा–ब्याजका लागि वैशाखसम्म म्याद थपिएको थियो । लकडाउन लम्बिँदै गएपछि वैशाखदेखि फेरि म्याद थपेर असारसम्म पुर्‍याइयो । यही कारण प्रभावित केही ऋणीले साँवा–ब्याज नतिरेपछि असुली नभएको ब्याज आय धेरै देखिएको हो ।

‘गत असार मसान्तसम्म बैंकहरूको उठ्नुपर्ने कुल ब्याजमध्ये ५१ अर्ब रुपैयाँ असुली भएको छैन,’ बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने, ‘०७६ असारमा असुली नभएको ब्याज करिब ११ अर्ब रुपैयाँ थियो ।’

अघिल्लो आर्थिक वर्षको अन्त्य (०७६ असार) लाई सामान्य अवस्था मानेर त्यतिबेला नउठेको ब्याज बराबर रकम गत असारमा नउठेको कुल रकमबाट घटाउँदा पनि करिब ४० अर्ब रुपैयाँ बराबर ब्याज असुली नभएको दाहालको विश्लेषण छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।