बाढीपहिरोबाट मर्नेको सख्ँया ८८, ३२ बेपत्ता

काठमाडौं/यसवर्ष वर्षायाम शुरु भएपछि अहिलेसम्म बाढीपहिरोबाट ८८ जनाले जीवन गुमाएका छन् । मनसुन सक्रिय भएपछिको २९ दिनमा मुलुकको विभिन्न जिल्लामा गरी बाढी तथा पहिरोबाट ८८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । बाढीपहिरोमा ३२ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट १९ भन्दा बढी जिल्ला प्रभावित भएको छ ।

बाढीपहिरोले म्याग्दी, सिन्धुपाल्चोक, पर्वत, बझाङ, कास्की, जाजरकोट, पाल्पा, लम्जुङ र गुल्मीमा बढी मानवीय क्षति भएको छ । झापा, चितवन, सल्यान, कालीकोट, सुर्खेत, गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी र दार्चुलामा समेत बाढीपहिरोले क्षति पुर्याएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

बाढीपहिराले सबै भन्दा बढी म्याग्दीमा मानवीय क्षति पुर्याएको छ । म्याग्दीमा पहिरोमा परेर २७ जनाले ज्यान गुमाएका छन् । सिन्धुपाल्चोकमा २० जना हराइरहेका छन् । तराइका विभिन्न जिल्ला भने डुबान र कटानको समस्याबाट प्रभावित भएको छ । मनसुन सक्रिय भएसँगै गएको जेठ ३१ गते पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा अकल्पनीय रुपमा पहिरो जाँदा ९ जनाले ज्यान गुमाए । दुर्लुङमा जंगलमाथिबाट भेलपहिरो खसेको थियो ।

असार ८ गते पाल्पाको तानसेन नगरपालिकास्थित सम्मोबारीमा फेरि अर्को विपद्को घटना दोहोरिँदा ४ जनाले ज्यान गुमाए । बझाङमा असार २० गते त्यसैगरी पहिरो खस्दा ७ जनाले ज्यान गुमाएका छन् । त्यहाँ अझै एकजना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ । बझाङ र पर्वतको भेलपहिरो अकल्पनीय रहेकाले त्यहाँको पहिरो अध्ययन गर्न प्राविधिक समूह नै पठाइएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउनुहुन्छ । पोखरेलका अनुसार अनुसार यसपटकको अपत्यारिलो ठाउँको पहिराले कहालीलाग्दो क्षति पु¥याएको छ । त्यसपछि बिहीबार र शुक्रबार मुलुकका विभिन्न स्थानमा पहिरो खस्दा धेरै जनधनको क्षति भयो ।

म्याग्दीमा २७ को मृत्यु
म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालका धवलागिरी, मालिका, रघुगङ्गा गाउँपालिकामा गरी पहिरामा परेर २७ जनाको मृत्यु भएको छ । अझै ४ जना बेपत्ता छन् । बेपत्ता भनिएका ३ जना सम्पर्कमा आएको ढकालले जानकारी दिनुभयो ।

“अहिलेसम्म प्रभावित ८ सय ९६ जनालाई सुरक्षित स्थानमा सारिएको छ । राहत सामग्री, त्रिपाल, खाद्यान्न, लत्ताकपडा, कम्बल आवश्यक मात्रामा हेलिकप्टरबाट पु¥याइसकिएको छ, हराइरहेकाको खोजी जारी छ”, उहाँले भन्नुभयो । ढकालका अनुसार ५० बोरा चामल, आवश्यक मात्रामा नुन, तेल, मसला, चाउचाउ, पाल, कम्बल ब्ल्याङ्केट सबै पु¥याइसकिएको छ । म्याग्दीमा घाइते भएका १२ जनाको हेलिकप्टरबाट उद्धार गरी केहीलाई काठमाडौँ र पोखरा पठाइएको र ७ जनाको बेनीमा उपचार भइरहेको छ ।

सिन्धुपाल्चोकमा अझै २० बेपत्ता
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित जम्बुबजार र भोटेकोसी गाउँपालिकामा बाढी र पहिरोका कारण ३ जनाको मृत्यु भएको छ । अझै २० जना बेपत्ता भएको प्रजिअ उमेशकुमार ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रारम्भिक विवरणमा ५२ घर बाढी र पहिरोले क्षति पु¥याएको छ । यहाँको प्रभावित क्षेत्रमा ६५ घर परिवारलाई पुग्ने राहत सामग्री तथा लत्ताकपडा जिल्लाबाट पठाइएको र खाद्यान्न भने स्थानीय पालिकाले व्यवस्थापन गरेको उहाँले जानकारी दिनुभयो । अहिले पनि सबै सुरक्षाकर्मीले त्यहाँ उद्धार जारी राखेका छन् । काठमाडौँबाट समेत उद्धार टोली पुगेर जम्बुबजारमा हराइरहेकाको खोजी जारी छ । हराएका भनिएका एक जना भने सम्पर्कमा आएको उहाँले जानकारी दिनुभयो ।

कास्कीमा ७ को मृत्यु, १३ घाइते
कास्कीको सराङकोट, हेम्जा र पैतेडाँडामा शुक्रबार पहिरोले जनधनको क्षति पु¥याएको थियो । कास्कीमा सातको मृत्यु भएको र १३ जना घाइते रहेको प्रजिअ ज्ञानप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार सराङकोटमा ५ हेम्जामा १ र पैतेडाँडामा १ जनाको मृत्यु भएको हो ।

जाजरकोट ९ जनाको मृत्यु
जाजरकोटमा पहिरोमा परेर ९ जनाको मृत्यु भएको छ । प्रजिअ जनकराज पन्तका अनुसार त्यहाँको बारेकोट गाउँपालिका–४ लगायत स्थानमा पहिरो जाँदा ९ जनाले जीवन गुमाएका हुन् । त्यहाँ अझै ६ जना बेपत्ता छन् । उनीहरुको खोजी जारी रहेको र राहत तथा पुनस्र्थापनको काम चलिरहेको छ ।

अन्य जिल्लामा मानवीय क्षति
प्राधिकरणबाट प्राप्त विवरणअनुसार बाढीपहिरोमा परेर गुल्मीमा ५ को मृत्यु भएको छ । १ जना बेपत्ता छन् । यस्तै लमजुङ ४ जनाको मृत्यु भएको छ । रुकुम पश्चिम र दार्चुलामा २÷२ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी, सल्यान, कालीकोट, सुर्खेत, झापा र चितवनमा १÷१ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । , बझाङमा १, जाजरकोटमा १ गुल्मीमा १, जना अझै बेपत्ता रहेको सम्बन्धित जिल्लाका प्रजिअले जानकारी दिनुभएको छ ।