दासढुंगामाथि राजनीति : न बिर्सिन्छन् न छानबिन गर्छन्

काठमाडौँ /हरेक वर्ष जेठ ३ गते जस्तै यसपालि पनि शनिबार बिहानै नेकपा अध्यक्षहरूको वक्तव्य आयो । तीन पृष्ठ लामो वक्तव्यमा २७ वर्षदेखि भनिँदै आएको ‘कर्मकाण्डी’ कुरा दोहोरियो– मदन भण्डारी र जीवराज आश्रित मारिएको रहस्यमय घटनाको अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्ने ।

पार्टीका नेताहरू पटकपटक सरकारको नेतृत्वमा पुगे, भण्डारीकै श्रीमती विद्यादेवी भण्डारी राष्ट्रपति छिन् तर यो घटना, छानबिन र दोषीलाई कारबाही गर्ने भन्ने वक्तव्य र भाषणभन्दा माथि उठेको छैन । बरु चितवनको दासढुंगाको यो घटना र मदन भण्डारीको व्यक्तित्व नेकपाका नेताहरूलाई राजनीति गर्ने बलियो हतियार भएको छ ।

भण्डारीले नै नेतृत्व गरेको तत्कालीन एमालेबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली ९दुई पटक० प्रधानमन्त्री भए । अहिले भण्डारीको प्रखर अनुयायीका रूपमा उदाएका तत्कालीन माओवादीका पुष्पकमल दाहाल दुई पटक प्रधानमन्त्री बने । माओवादीमै रहँदा बाबुराम भट्टराई पनि प्रधानमन्त्री भए । तर कुनै बेलाका चर्चित कम्युनिस्ट नेताको त्यो दुर्घटनाको रहस्य पत्ता लागेन । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।