भरतपुर खानेपानी व्यवस्थापन बोर्डको काउन्टर आजबाट बिहान खुल्यो ।

चितवन/ग्राहकको सुविधाका लागि भरतपुर खानेपानी व्यवस्थापन बोर्डको अफिस आाजदेखि बिहान चार घन्टा खुलेको छ । महसुल काउन्टर सञ्चालन तथा नयाँ धारा वितरण सम्बन्धमा आइतबार एक सूचना जारी गर्दै बोर्डले हिजै सो जानकारी गराएको हो । अर्काे सूचना जारी नभएसम्मको लागि आज वैशाख २९ गते सोमबारबाट बिहान ८ बजेदेखि मध्यान्न १२ बजेसम्म भरतपुर र कृष्णपुर काउन्टर सञ्चालन गरिने बोर्डका सूचना अधिकारीसमेत रहेका प्रशासन शाखा प्रमुख सञ्जय बरालले जानकारी दिए ।

     विश्वभर तीव्र गतिमा फैलिँदै गएको कोभिड १९ (नोवेल कोरोना) भाइरस संक्रमणको उच्च जोखिमबाट सुरक्षित रहन र संक्रमण फैलावटको नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको लकडाउनको अवस्थालाई मध्यनजर गर्दै गत चैत्र ११ गतेदेखि बोर्डको महसुल काउन्टर र नयाँ धारा वितरणको सेवा स्थगन गरिएको थियो ।

नेपाल सरकारको हालैको निर्णय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी स्वास्थ्य सम्बन्धी प्रोटोकलको पूर्ण पालना गर्दै आवश्यक कागजातसहित माग गरेमा काउन्टर समयभित्र नयाँ धारा वितरण कार्य पनि चालू गरिने बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले बताएका छन् ।

     ‘यस विषम् परिस्थितिमा न्यूनतम सामाजिक दूरी कायम गर्दै आफू पनि बचौं, अरुलाई पनि बचाऔं’ भन्दै उनले भने, ‘बोर्डले तोकेको समयावधिभित्र सेवा लिन आउने हरेक व्यक्तिले अनिवार्य रुपमा मास्क लगाउने, कार्यालयभित्र प्रवेश गर्दा साबुन पानीले हात धुने र न्यूनतम १ मिटरको सामाजिक दूरी कायम राख्नुपर्नेछ । साथै, अनलाइनबाट महसुल भुक्तानीको लागि जुनसुकै समयमा पनि इसेवा र आईएमई आदि सेवा प्रयोग गर्न सकिनेछ ।’ – अजय गोर्खाली