भरतपुर अस्पताललाई रोटरीको सहयोग

चितवन/ रोटरी क्लब अफ रत्ननगरले भरतपुर अस्पताललाई पिपिई लगाएतका सामाग्रीहरु सहयोग गरेको छ । कोरोना भाईरस (कोभिड १९) का कारण चिकित्सकलाई उपचारमा सहज होस भनेर क्लबले ५० थान पिपिई र १ सय ५० थान ग्लोब्स उपलव्ध गराएको हो ।
क्लबका अध्यक्ष बिपिन पोख्र्रेलले आज अस्पतालमा आयोजित कार्यक्रममा भरतपुर अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीलाई ती सामाग्री हस्तान्तरण गर्नु भएको हो । सामाग्री ग्र्रहण गर्दै तिवारीले चिकित्सक, स्वास्थ्यकर्मीको स्वास्थ्यमा ध्यान दिएर गरिएको सहयोग प्रति खुशि व्यक्त गर्नु भयो । आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा गर्दै यसले चिकित्सक स्वास्थ्य कर्मीहरुलाई काममा सहयोग पुग्ने बताउनुभयो । भरतपुर अस्पतालमा चिकित्सक स्वास्थ्यकर्मीले बिरामीको उपचार गर्दा प्रयोग गर्ने सुरक्षिक पोशाकहरु नहुदाँ सास्या परिरहेका बेला रोटरीले सहयोग गरेको हो ।
अध्यक्ष पोख्रेलले बिरामीको उपचारमा तल्लिन चिकित्सकहरु समेत संक्रमणको जोखीममा पर्न सक्ने भन्दै सामाग्री हस्तान्तरण गरिएको बताउनुभयो । आगामी दिनहरुमा पनि सहयोग गर्ने उहाँको भनाई थियो । क्लबले रु २ लाख ५० हजार बराबरको सामाग्री काठमाडौंमा खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको हो । अस्पतालमा हाल यस्ता अत्याबश्यक सामाग्रीहरुको अभाब रहेको छ ।
क्लबले यस अघि गाउँघरमा सेनिटाईजर बितरण, भरतपुर अस्पतालमानै बच्चाको सघन उपचार कक्षमा सहयोग हुने गरेर सामाग्री, रोटरी पुस्तकालय, शहीद स्मृति पुस्तकालय, लटौली खाजा तथा लघुबित्त कार्यक्रमको संञ्चालन, रोटरी सार्वजनीक शौचालय निर्माण, बृहत रक्तदान कार्यक्रम जस्ता सामाजिक काम गर्दै आएको छ । क्लबले सौराहामा पर्यटकको आगमनलाई लक्षित गर्दै रोटरी घण्टाघरको निर्माणको कामलाई तिब्र बनाएको क्लबका निवर्तमान अध्यक्ष जनक पौडेलले जानकारी दिनुभयो ।