कोरोना विरुद्ध लड्न सार्क–सहकार्यमा पाकिस्तानको अड्को

काठमाडौं/विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)सदस्य राष्ट्रबीच साझा रणनीति बनेपनि त्यस अनुरुप सहकार्य अन्यौलमा परेको छ।
सार्क सहकार्य यतिबेला दुईपक्षीय सहकार्यको रुपमा अघि बढाउने विषयमा छलफल भइरहेको परराष्ट्र उच्चस्रोतले बताएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव आरम्भमा पाकिस्तानले स्वीकार गरेपनि साझा कोष सार्क सचिवालय मार्फत ल्याउनु पर्ने भनेपछि सहकार्यमा अन्यौल आएको हो।
पाकिस्तानले क्षेत्रीय सहयोगका लागि सार्क महत्वपूर्ण मञ्च बनाउनु पर्ने तर कुनै मुलुक मातहत नभै सचिवालय अन्तर्गत राखेर नै साझा पहल गर्नुपर्नेमा जोड दिएपछि अन्यौल देखिएको हो। भारत आफैंले ठूलो रकम एक करोड अमेरिकी डलरको कोष तय गरेको र उक्त कोषमा सबै सदस्य राष्ट्रले रकम थप गरेर सहकार्य गर्ने सहमति भएको थियो। तर, पाकिस्तानले उक्त कोष सचिवालयमार्फत ल्याउन पर्ने अडान राखेपछि साझा कोषमा सार्कस्तरीय सहकार्य अघि बढ्न नसकेको हो।
मोदीको सक्रियतामा एक साताअघि भएको भिडियो कन्फरेन्समा पनि अन्य मुलुकबाट राष्ट्र एवं सरकार प्रमुख नै सहभागी थिए तर पाकिस्तानकातर्फबाट स्वास्थ्यमन्त्री उपस्थित थिए। जम्मू कश्मीर मुद्दा र त्यसअघि दुईपक्षीय सीमा हुने हमलाले सम्बन्ध चिसो रहेको भारत–पाकिस्तान सम्बन्धको कारण नै कोरोना भाइरस विरुद्धको संयुक्त लडाइ पनि दुई पक्षीय सहकार्यमा समेटिन लागेको हो।
भारतसँग हरेक मुलुकले दुईपक्षीय सहकार्य गर्दै त्यसमा अघि बढ्ने गरी प्रक्रिया अघि बढेको परराष्ट्र अधिकारीले बताए। त्यसो भए पाकिस्तान फेरि सार्कमा आझेलमा पर्ने देखिन्छ। परराष्ट्र मन्त्रालय उच्चस्रोतका अनुसार भारत–पाकिस्तानको सम्बन्धको कारण महामारीमा पनि सार्क सहकार्य नहुनु दुःखद हो। पाकिस्तान बाहेक अन्य सदस्य राष्ट्र भारतको प्रस्ताव स्वीकार गरेर अघि बढेको भए पनि त्यस अन्तर्गत सहकार्य हुन सकेको छैन।
कोरोनाविरुद्ध साझा रणनीति बनाउने भारतको प्रस्ताव आएपछि सार्क अघि बढ्ने लख धेरैले काटेका थिए। सार्कको वर्तमान अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले मोदीको प्रस्तावलाई साथ दिँदै सहकार्य अघि बढाएका थिए। कोषमा रकम समेत घोषण गरिसकेकका छन्। शिखर सम्मेलन गरेर अध्यक्षता लिने तयारीमा रहेको पाकिस्तानले यसमा पनि अड्को थाप्दा सार्क अघि बढ्न नसक्ने अर्को सन्देश हो। यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।