खिचरा महोत्सवको आज दोस्रो दिनः चर्चित गायक अर्जुन कौशलको प्रस्तुती


चितवन, पुस २८/पूर्वीचितवनको खैरहनीमा जारी ‘सातौं खिचरा महोत्सव–२०७६’ अन्तरगत आज दोस्रो दिन विभिन्न कार्यक्रमहरु हुँदैछ ।
महोत्सवमा आज (सोमबार) साँस्कृतिक कार्यक्रम अन्तरगत चर्चित कलाकारहरुको प्रस्तुती रहने छ । आज चर्चित गायक अर्जुन कौशलको सांगीतिक प्रस्तुती रहने साँस्कृतिक समितिका संयोजक जयस चौधरीले जानकारी दिए ।
महोत्सवमा कौशलको प्रस्तुतीसंगै अन्य स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने आयोजक थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले जनाएको छ । यस्तै महोत्सव अन्तरगत आयोजित ‘खिचरा डान्स आइडल’ को प्रस्तुती समेत रहने छ । पहिलो चरणबाट छनौट भएका २० जना प्रतियोगीहरुको आज प्रस्तुती रहने आइडलका संयोजक हरिशरण चौधरीले जानकारी दिए ।
हिजो (आइतबार) देखि सुरु भएको खिचरा महोत्सव माघ ८ गतेसम्म गौचरनमा चल्ने छ । महोत्सवको हिजो उपप्रधान मन्त्री तथा नेपाली काँग्रेसका उपसभापति विजय कुमार गच्छदारले समुद्घाटन गरेका थिए ।
थारु समुदायको महान् पर्व माघी (खिचरा)को अवसरमा प्रत्येक वर्षदेखि ‘खिचरा महोत्सव’ आयोजना हुँदै आइरहेको छ । महोत्सवले खिचरा पर्वको संरक्षण गर्नमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको महोत्सव मुल आयोजक समितिका संयोजक चुडामणि चौधरीले बताए ।
महोत्सवमा थारुसंगै विभिन्न जातजातिको परम्परागत भेषभुषा सहितको साँस्कृतिक कार्यक्रमलाई जोड दिइएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतीका साथै मिस नेपालद्धारा थारु भेषभुषासहितको पहिरनमा मेला अवलोकन, मिस्टर एण्ड मिस थारुको फेसन शो र खुल्ला नृत्य प्रतियोगिता राखिएको जानकारी दिए ।
महोत्सवमा यसवर्ष १५० वटा स्टर रहने छन् । जसमा थारु जातिको खानाको परिकारसहितको स्टलहरु, चेपाङ र दराई को समेत खानाका परिकारका स्टल र विभिन्न शैक्षिक, वित्तीय संस्था, विभिन्न संस्थाहरुको स्टलहरु समेत रहने आयोजकले जनाएको छ ।
यस्तै महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, अन्तर विद्यालयस्तरीय चित्रकला, हाजिरी जवाफ प्रतियोगिता, ४० वर्ष माथिका पुरुषको भेट्रान दौड, स्लो साइकल रेस, खिचरा फोटोरसेल्फी फोटो प्रतियोगिता र फेस पेन्ट प्रतियोगिता रहने आयोजकले जनाएको छ । यसवर्ष पनि महोत्सवमा प्रवेशका लागि विगतका वर्ष जस्तै ५० रुपैयाँ र विद्यार्थीका लागि ३० रुपैयाँ कायम गरिएको छ । चितवनका थारु समुदायले माघ १ गते खिचरा पर्व मनाउने गरेका छन् । यही अवसरमा विगत सात वर्षदेखि महोत्सव आयोजना हुँदै आइरहेको छ ।