सभामुख पदको संघर्षमा प्रचण्डलाई घुँडा टेकाउँदै प्रधानमन्त्री ओली !

काठमाडौं । संसद सभामुखविहीनको अवस्थामा रहेको तीन महिना नाघिसकेको छ । संसद संचालनको प्रमुख अंगको रुपमा रहने गरेको सभामुख पद सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका लागि अहिले आएर घाँडो साबित हुँदै गएको छ ।

सो पद हत्याउनका लागि नेकपाका नेताहरुमा बढी आकांक्षा देखिएकाले पनि समस्याको गाँठो फुक्न नसकेको अवस्था छ । खासगरी पूर्वमाओवादी केन्द्र र पूर्वएमालेका नेताहरुले उक्त पदका लागि आफ्नो पक्षले पाउनुपर्ने माग गर्दै आएकाले समस्या बल्झिने गरेको छ । उक्त पद नेपालको प्रमुख पाँच शीर्ष पदहरुमध्येमा एक रहेको तथा राजनीतिक वरियताक्रम पनि माथि हुने तथा सेवा सुविधा समेत राम्रो रहेका कारण सो पदमा आकर्षण बढेको हो ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा यौनदुव्र्यवहारका कारण हाल थुनामा रहेको अवस्थामा सो पदका लागि नेकपाका अध्यक्षद्वयले त्यसलाई आफ्नो प्रतिष्ठासँग जाडेर आफूले चाहेको व्यक्ति सभामुख हुनुपर्ने अडान राख्दै आएका कारण हालसम्म पनि सभामुख चयन हुन नसकेको अवस्थामा संसद रहेको छ । सभामुख र उपसभामुख एकै दलको हुन नसक्ने संवैधानिक व्यवस्था रहेको अवस्थामा हालको नेकपाका तर्फबाट उपसभामुख शिवमाया तुम्वाहाम्फे कायम रहेको अवस्थाम सभामुखका लागि नेकपाले कुनै लोभ नगरी अन्य पार्टीका लागि छोडिदिएको अवस्थामा सो दलमा समेत समस्या नहुने स्थिति छ । त्यस्तो सहज अवस्थालाई सत्तारुढ दलले नमानी सभामुख आफ्नै दलको बनाउन लागिपरेका कारण समस्या बढेको हो ।

सभामुख संसद संचालनका लागि महत्वपूर्ण मानिने पद भएका कारण पनि सत्तारुढ दलले यो पद आफ्नै दलको तर्फबाट राख्ने पक्षमा रहेको छ । सत्तारुढ दलमा सो पदका लागि धेरैजना आकांक्षी देखिएकाले पनि नेकपा आन्तरिक समस्यामा रुमलिएको हो । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष खड्गप्रसाद शर्मा ओली उक्त पदमा पूर्व सभामुख सुभाषचन्द्र नेम्वाङलाई आसीन गराउने पक्षमा छन् । नेम्वाङ अनुभवी समेत भएका तथा शीष्ठ शैलीका भएका कारण पनि उनलाई बनाउँदा सरकार संचालनमा समेत सहज हुने ओलीको सोच रहेको छ । त्यसैगरी नेम्वाङ पूर्वएमाले त्यसमाथि पनि ओली निकटका भएका कारण पनि ओली उनको पक्षमा अड्डी कसेर बसेका हुन् ।

ओलीले नेम्वाङका पक्षमा आवाज उठाएपछि नेकपाका अर्का अध्यक्ष दाहाल भने झस्किन पुगेका छन् । ओलीले दिएको दबाब खेप्न गाह्रो अवस्थामा दाहाल पुगेका छन् । दाहाल पनि आफ्नो पक्षको सांसदलाई त्यसमाथि पनि अग्नि सापकोटालाई सभामुख बनाउने पक्षमा छन् । दाहाललाई सभामुख पूर्वमाओवादीबाटै हुनुपर्ने भनी पूर्वमाओवादीका नेताहरुले दबाब दिएका छन् । उनीहरुले दाहालले आफ्नो हैसियत गुमाउँदै गएको तथा पूर्वएमालेसँग खासगरी ओलीसँग कुनै अडान राख्न नसकेको आरोप उनीहरुले लगाउने गरेका छन् ।

ओलीलाई प्रधानमन्त्री बनाउने समयमा प्रधानमन्त्रीको कार्यकाल आधा आधा बाँड्ने गरी दुवै नेताका बीच सहमति भए पनि ओलीको चाहनालाई नाइँ भन्न नसकेको अवस्थामा दाहाल रहेका कारण पूर्ण कार्यकाल ओलीलाई नै चलाउन दिने पक्षमा पुग्न दाहाल बाध्य भएको उनीहरुको ठम्याइ छ । प्रधानमन्त्रीमा दाबी नगर्ने दाहालको उदारतालाई ओलीले दाहालको कमजोरीको रुपमा लिई हाल सभामुख पदमा समेत पेल्न खोजेको भनी दाहाललाई उकास्ने गरेका छन् । दाहाल पनि सभामुखका लागि नलत्रने भनी पूर्वमाओवादीका नेताहरुको भेलामा कुम हल्लाउने गरे पनि ओलीले दाहाललाई घँडा टेकाउने हुन् कि भनी पूर्वमाओवादी नेताहरुले अड्कलबाजी गरिरहेका छन् । ओलीका सामु लुत्रुक्क पर्ने स्वभाव दाहालमा विकास हुँदै आएको भनी उनीहरु निराश समेत छन् ।

दाहाल पक्षधरहरुले कुनै पनि हालतमा सभामुख पद ओलीको बोलीमा नलाग्न दबाब दिएका हुन् । उनीहरुले पहिले आफ्नो पक्षले सभामुख पाउनुपर्ने भन्ने कुरामा ओली सहमत भएको खण्डमा आफ्नो पक्षका तर्फबाट सहमति जुटाउन अप्ठ्यारो नहुने भनी भन्न दाहाललाई सुझाइ रहेका छन् । सभामुखका लागि पूर्वमाओवादीबाट ओनसरी घर्ती, देवप्रसाद गुरुङ, पम्फा भुसाललगायत केही नेताहरु दौडमा रहे पनि अग्नि सापकोटाको नाम दाहालले प्रस्ताव गरेमा त्यसमा सहमति हुन सक्ने पक्षमा रहेका छन् । दाहालले यो पदमा पनि अडान लिन नसके ओलीले भोलिका दिनमा दाहाललाई झनै पेल्दै जाने तथा दाहालसँगै आफूहरुको भविष्य समेत अन्यौलमा पर्ने भनी पूर्वमाओवादीहरु नेताहरु त्रसित अवस्थामा छन् ।

उता, सभामुख पदका लागि आफू सबैभन्दा योग्य व्यक्तिको रुपमा रहेकी भन्दै हालकी उपसभामुख शिवमाया तुम्वाहाम्फेले पनि आफूलाई सभामुख बनाइनुपर्ने दाबी गर्दै आएकी छिन् । उनले उपसभामुखबाट राजीनामा नगरेसम्म सभामुखको निर्वाचन हुन नसक्ने अवस्था रहेका कारण कि आफूलाई सभामुख बनाउनुपर्ने कि त उपसभामुखमै कायम राख्नुपर्ने भन्ने माग राख्दै राजीनामा नगरी बसेको अवस्था छ । उपसभामुखलाई राजनीतिक दलको ह्वीप समेत नलाग्ने भएकाले नेकपाले पनि उनलाई हटाउन सक्ने अवस्था छैन । त्यसमाथि तत्कालीन सभामुख महराको गल्तीको सजाय उपसभामुखले राजीनामा गरी किन पाउने भनी उनको पक्षमा आवाज उठाउनेहरु पनि प्रशस्तै छन् ।

उपसभामुख तुम्वाहाम्फेको पक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी समेत रहेको भन्ने चर्चा चलिरहेको छ । उनको कुनै गल्ती नभएको अवस्थामा उनीमाथि अन्याय नगर्न वा अझ बढी न्याय गरी सभामुख बनाउन राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई समेत दबाब दिने गरेकाले ओली पनि तनावमा रहेको समाचारस्रोतले जानकारी दिएको छ । ओलीमाथि राष्ट्रपतिको दबाब पर्नासाथ ओलीले पनि दाहाललाई दबाब दिने गरेको समाचार स्रोतको दाबी छ । दाहालले नेम्वाङको पक्षमा सहमति जुटाउन सकेको खण्डमा त्यसलाई राष्ट्रपति भण्डारीले समेत मान्ने अवस्था आउने भनी ओलीले दाहाललाई दबाब दिने गरेको अवस्था छ ।

यसै विषयलाई लिएर ओली र दाहालका बीचमा भोलि शनिवारसम्म वार्ता गरेर भए पनि सहमति जुटाउनपर्ने दबाब पनि परेको नयाँ विमशमा उल्लेख छ । आइतवारदेखि संसद संचालन हुने भएकाले अब स्थगित नगरी सभामुख चयनलाई प्रमुखता दिनुपर्ने भनी नेकपाका नेताहरुले दाहाल र ओलीलाई दबाब दिंदै आएका छन् । पदीय लडाइँका कारण संसदलाई बन्धन बनाउन नहुने भनी वुद्धिजीवी वर्गबाट समेत दबाब आउने गरेका कारण ओली र दाहाल दबाबमा छन् ।