निजी मेडिकल कलेज ठगी प्रकरण : अझै गरेनन् अतिरिक्त शुल्क फिर्ता


प्रशान्त वली /काठमाडौं/निजी मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता गर्न अझै आनाकानी गर्दै आएका छन् । सरकारले समेत पटक–पटक बढी लिएको शुल्क फिर्ता गर्न पत्राचार गरे पनि निजी मेडिकल कलेज सञ्चालकले मानेका छैनन् । बरु उल्टै विद्यार्थी भर्ना नगर्ने चेतावनी दिँदै आएका छन् ।
विद्यार्थीका अनुसार देवदह मेडिकल कलेजले ३१ करोड, चितवन मेडिकल कलेजले ६० करोड, विराट मेडिकल कलेजले ४२ करोड र नोबेल मेडिकल कलेजले ६० करोड रुपैयाँ अतिरिक्त शुल्क उठाइसकेका छन् ।
यस्तै, गण्डकी मेडिकल कलेजले ४५ करोड, नेसनल मेडिकल कलेजले ६० करोड, युनिभर्सल मेडिकल कलेजले ४५ करोड, किस्ट मेडिकल कलेजले ४५ करोड, नेपालगन्ज मेडिकल कलेजले ४५ करोड र मणिपाल मेडिकल कलेजले ३० करोड रुपैयाँ अतिरिक्त शुल्क लिएको चिकित्सा शिक्षा संघर्ष समितिले जनाएको छ ।

गण्डकी मेडिकल कलेजको हकमा गत फागुनमै एक महिनाभित्र बढी असुल गरिएको शुल्क फिर्ता गर्ने सहमति भएको थियो । तर, सो सहमति अझै कार्यान्वयनमा नआएको विद्यार्थी अनित सिन्हाले बताए ।
बढी शुल्क लिएको भन्दै कलेज प्रशासनमा विरोधमा उत्रिएका भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका विद्यार्थीमाथि हातपात भएको छ । कलेजले अवैधानिक रूपमा लिएको पैसा फिर्ता माग्दै बिहीबारदेखि विद्यार्थीले सुरु गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको पीडित विद्यार्थीले बताएका छन् । आन्दोलनमा सहभागी विद्यार्थीलाई अस्पताल प्रवेशमा समेत रोक लगाइएको थियो ।

युनिभर्सल र नेसनलमा विद्यार्थीलाई धम्की

नेपालका मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीलाई आर्थिक, मानसिक र विभिन्न प्रकारका शोषण हुँदै आएको भन्दै युवा चिकित्सक संघ नेपालले नेपाल मेडिकल काउन्सिलमा तालाबन्दी गरेको छ । संघले काउन्सिलका अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रारको कार्यकक्षमा ताला लगाएका हुन् ।
सरकारले तोकेभन्दा बढी शुल्क असुलेको र शुल्क फिर्ताको माग गर्दा युनिभर्सल मेडिकल कलेज तथा वीरगन्जको नेसनल मेडिकल कलेजका विद्यार्थीलाई कलेज व्यवस्थापनले बन्धक बनाएको भन्दै ध्यानाकर्षणस्वरूप तालाबन्दी गरिएको संघका अध्यक्ष डा। चेतन वस्नेतले बताए ।
सरकारले गत वर्षका लागि एमबीबीएसमा ४२ लाख ४५ हजार रुपैयाँ र बीडीएसका लागि १९ लाख ३२ हजार रुपैयाँ तोकेको शुल्क तोकेको थियो ।

डा. केसी भोलिदेखि अनसन बन्दै

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी १८ कात्तिकदेखि अनशन बस्दै छन् । चिकित्सा शिक्षाभित्र देखिएको विकृति अन्त्य गर्न सरकार उदासीन देखिएको भन्दै डा. केसी अनशन बस्न लागेका हुन् । चिकित्सा शिक्षाको सुधार हुनुपर्ने माग राख्दै सरकारलाई दबाब दिन उनी १६ पटकसम्म अनशन बसिसकेका छन् । चिकित्सा शिक्षामा सुधार हुन नसक्दा यो क्षेत्रमा विकृति बढ्दै गएको डा। केसीको आरोप छ । राजधानी दैनिकबाट