प्याकेज सहमति खोज्दै दाहाल


बिनु सुवेदी/ काठमाडौँ /प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूसँग पटकपटक गरेको सहमति कार्यान्वयनमा उदासीनता देखाएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका अन्य नेताहरूसँग छलफल र भेटघाट बढाएका छन् ।
पछिल्लो समय दाहालले प्रधानमन्त्रीसहित नेकपाका शीर्ष नेताहरूलाई छुट्टाछुट्टै भेटेर आफूहरूबीच भएको सहमति कार्यान्वयनमा ओली अग्रसर नभएको गुनासो गर्न थालेका हुन् । ‘अब उहाँसँग फेरि अर्को लिखित सहमति गर्नुपर्ने बेला भएको छ, असहमतिका सबै विषयमा प्याकेजमै समझदारी गर्नुपर्छ भन्ने मेरो लाइन हो,’ अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै उनीनिकट एक नेताले भने, ‘ओलीजी सहमति कार्यान्वयनमा अब पनि अग्रसर हुनुभएन भने नयाँ ढंगले अघि बढ्नुपर्छ ।’

अध्यक्ष दाहालले समझदारी गर्न खोजेको प्याकेजभित्र के–के पर्छन् त रु स्रोत भन्छ, ‘प्याकेजको एक नम्बर बुँदा दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट हो ।’

२०७५ जेठ २ गते पार्टी एकीकरणको निर्णय हुँदा दुई अध्यक्षले सहमतिका आधारमा सरकारको आलोपालो नेतृत्व गर्ने सहमति गरेका थिए । केही अघिसम्म दाहालले प्रधानमन्त्रीले यो सहमति कार्यान्वयन गर्नुपर्ने बताउँदै आएका थिए । तर गत साउन अन्तिम साता दुई अध्यक्षबीच फेरि सहमति भयो । उक्त सहमति पनि कार्यान्वयन गर्न ओली तत्पर नभएपछि दाहालको छटपटी बढेको हो । साउनमा उनीहरूबीच पार्टी सञ्चालनको कार्यकारी अधिकार दाहाल र सरकार सञ्चालनको जिम्मेवारी ओलीले लिने अनौपचारिक सहमति भएको थियो । उक्त सहमति भदौ सुरुदेखि नै कार्यान्वयन गर्ने वाचा गरे पनि अहिले त्यो विषयमा ओलीले कुरै गर्न नचाहेको दाहालको गुनासो छ । ‘छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार त दिनदिनैजसो जान्छु, कहिलेकाहीँ त दिनको दुईपटक पनि पुग्छु, भेटघाटको लगभग ७५ प्रतिशत समय उहाँको कुरा सुनेरै जान्छ, विषयमा प्रवेश गर्नेबित्तिकै भोलि फेरि भेटौंला भन्नुहुन्छ,’ एक शीर्ष नेताले हालै दाहालले आफूसँग गरेको गुनासो उद्धृत गर्दै भने ।

ती नेताले कान्तिपुरलाई बताएअनुसार अब दाहाल प्रधानमन्त्री ओलीसँग अन्तिम सहमति खोज्ने मनस्थितिमा छन् । उनका अनुसार दाहालले आफूहरूको जिम्मेवारी बाँडफाँटसँगै मन्त्रिपरिषद् पुनर्गठन, सभामुख चयन, संवैधानिक तथा संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूमा नियुक्ति, राजदूत नियुक्ति र पार्टी एकीकरणका बाँकी काम एकमुष्ट टुंग्याउन चाहेका छन् ।

‘यी विषयको छिटै टुंगो लगाउने चाहना प्रधानमन्त्रीको पनि हो, तर उहाँ एकतर्फी रूपमा निर्णय गर्न खोज्नु हुन्छ,’ दाहालको गुनासो ती नेताले उद्धृत गरे ।

वरिष्ठ नेता माधवकुमार नेपालसँग सोमबार साँझ भएको भेटमा पनि दाहालले ‘प्रधानमन्त्रीले धोका दिएको’ गुनासो गरेका थिए । नेता नेपालले एक व्यक्ति एक पदको कुरा आफूले उठाउँदा दाहालबाट पनि साथ नपाएको जवाफ दिएका थिए । नेपालले भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘तपाईंहरू दुई जना सँगै हुँदा मलाई एक्ल्याउनु हुन्छ, अहिलेसम्म जे गर्नुभयो भयो, सहेर बसें, अबका निर्णयमा पनि एकलौटी भयो भने राम्रो हुँदैन ।’

जवाफमा दाहालले आफू न्यायोचित बाँडफाँटको पक्षमा रहेको बताएका थिए । लामो समयदेखि पार्टी केन्द्रीय र स्थायी कमिटी बैठक नबोलाएका अध्यक्षहरूले सचिवालय बैठकसमेत नडाकेको नेपालको गुनासो थियो ।

पार्टीले गरेका निर्णय कार्यान्वयन हुन नसकेकामा वामदेव गौतमले समेत गुनासो गर्न थालेपछि दाहाल–नेपाल–गौतम गठबन्धन बन्न सक्ने आकलन भइरहेको छ । ‘प्रधानमन्त्रीले भर्खरै हुन्छ भनेको कुरा एकछिनमा हुन्न भन्नुहन्छ, दबाब दिन भए पनि हामी एक हुनुपर्‍यो,’ गौतमले अध्यक्ष दाहाल र नेता नेपालसँग प्रस्ताव गरेका छन् । गौतम आफूलाई उपाध्यक्ष बनाउने प्रस्ताव तीन महिनादेखि सचिवालयमै अड्किएकामा पनि रुष्ट देखिन थालेको स्रोतको भनाइ छ । ‘तर उहाँहरू ९दाहाल र गौतम० ओलीले एउटा कुरा दिन्छु भन्नेबित्तिकै फुरुङ्ग पर्नुहुन्छ,’ नेपालको भनाइ उद्धृत गर्दै ती नेताले भने ‘खुलेर कुरा गर्न पनि डर लाग्छ ।’ आजको कान्तिपुरबाट