असारे विकास :‘सय रोपनीभन्दा बढी भर्खर रोपेको धान खेत नष्ट भएपछि पागलजस्तै भएँ’


खप्तडछान्ना गाउँपालिका ६ पाटादेवलको अगासे खेतमा बुधबार धमाधम रोपाइँ चलिरहेको थियो । हलिसारा ९पहिलो रोपाइँ० गर्दा राम्रो उब्जनी हुने मान्यताका कारण एकै दिन अगासे खेतमा २० बढी परिवारको रोपाइँ हुँदै थियो । कोही खेत साउँदै (सम्याउँदै) थिए । कोही बेर्ना उखेल्दै थिए ।

बाउसेहरू इल्चा (खेतको डिँड) लगाउँदै थिए । केही खेतमा देउडा घन्काउँदै रोप्नेरी (रोपाहार महिला) हरू धान रोप्दै थिए । अगासे जिउलाको रौनक उत्सवमय थियो ।

दिउँसो १२ बजेतिर एकाएक खेतमा आउने कुलो सुक्यो । ‘कुलो भाँचिए’ पछि रोपाइँमा खटिएकाहरूको दौडादौड चल्यो । ‘कुलो बिग्रेको अनुमानमा किसानहरू रोपाइँ छाडेर बनाउन दौडिए,’ पाटादेवल कोसेडी खेतका दाने आग्रीले भने, ‘केटाकेटीले कुलो भाँचे होला भन्ने ठानेर फर्काउन गएका थियौं, त्यहाँ त २ वटा डोजर लगाएर कुलो ध्वस्त बनाइसकिएको रहेछ ।’

डोजरले सिँचाइ कुलो मात्र भत्काएन । २ वटा खानेपानीका पाइपलाइन, सय रोपनीभन्दा बढी भर्खर रोपेको धान खेतसमेत नष्ट गरिसकेको देखेपछि एकपटक आफू ‘पागलजस्तै भएको’ उनले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा वसन्तप्रताप सिंहले लेखेका छन् ।