पाँचौँ चितवन च्याम्पियनसिपः जुनियर प्रहरी अधिकृत शिक्षालय विजयी

 

चितवन, ३२ जेठ । चितवनको भरतपुरमा जारी हनामी पाँचौँ चितवन च्याम्पियनसि अन्तर्गत आजको खेलमा जुनियर प्रहरी अधिकृत शिक्षालय विजयी भएको छ । जुनियर प्रहरी अधिकृत शिक्षालयले गैँडोकाटको फोर ब्रदर्श फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

डिफेन्डिङ च्याम्पियनसिप गैंडाकोटलाई घरेलु मैदानमा हराउँदै जुनियर प्रहरी अधिकृत शिक्षालय सेमीफाइनलमा प्रवेश गरेको छ । दोस्रो हाफको १८औँ मिनेटमा प्रहरीका क्याप्टेन रामचन्द्र वाजीले एक गोल गर्दै टिमलाई विजयी बनाएका आयोजक एभरेष्ट क्लबका सचिव विकास कोइरालाले जानकारी दिए । आजको खेलमा म्यान अफ दी म्याच समेत रामचन्द्र वाजी नै घोषित भएका कोइरालाले बताए ।

भोलि आइतबार चौँथो चितवन च्याम्पियसिपको उपविजेता जु फुटबल क्लब जुगेडी र नारायणगढ फुटबल क्लब (एनएफसी) नारायणगढबीच प्रतियोगिता हुने आयोजक एभरेष्ट क्लबका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए । ‘युवाहरुको बाटो कुलत र दुव्र्यसन होइन, चेतना समाज विकास र राष्ट्र निर्माण हो’ भन्ने नाराका साथ आयोजना गरिएको पाँचौँ चितवन च्याम्पियनसिपमा सहभागी भएका १६ टिममध्ये नौ वटा टिम प्रतियोगिताबाट बाहिरिइसकेका देवकोटाले बताए । प्रतियोगिताको विजेताले उपाधिसहित तीन लाख रुपैयाँ नगद तथा मेडल र प्रमाणपत्र पाउने देवकोटाले जानकारी दिए ।

प्रतियोगिताको उपविजेताले एक लाख ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पाउनेछ भने तेस्रो हुने समूहले ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पुरस्कार स्वरुप प्राप्त गर्ने देवकोटाको भनाइ छ । सो प्रतियोगितामा बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई १०÷१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने एभरेष्ट क्लबका सल्लाहकार सन्तोष पनेरुले जानकारी दिए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २० हजार रुपैयाँ प्रदान गरिने पनेरुले बताए ।

असार ७ गतेसम्म भरतपुरको जुनियर प्रहरी अधिकृत शिक्षालयमा हुने प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा हनामी इन्टरनेशनल एजुकेशन, सह–प्रायोजकको रुपमा अल्फाबिटा चितवन र स्पोर्टस् वेयर क्लेम रहेका छन् । प्रतियोगिताको दोस्रो पुरस्कार प्रायोजक ध्रुव बजार व्यवस्थापन समिति तथा तेस्रो पुरस्कारको प्रायोजन ग्लोबल स्टार इन्जिनीयरिङ कन्सल्टेन्सीले गरेको छ । प्रतियोगिताको उत्कृष्ट खलाडी प्रायोजक मनकामना अस्पताल प्रालि, टिकट प्रायोजक ग्रेस इन्टरनेशनल एजुकेशन तथा सहयोगी संस्थाको रुपमा पुष्पाञ्जली अस्पताल प्रालि तथा नेपाल पोलिटेक्निक इन्स्टिच्युट रहेका छन् ।

प्रतियोगिता अन्तर्गत पुरस्कारका लागि पाँच लाख ६० हजार रुपैयाँ छुट्याइएको छ भने प्रतियोगितामा सहभागी हुने सबै टिमका लागि प्रति खेल पाँच हजार रुपैयाँका दरले यातायात खर्च प्रदान गरिने छ । फिफा नियमअनुसार खेलाइने सो प्रतियोगिता अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । टिकट काटेर खेल हेर्ने दर्शकहरुमध्येबाट हरेक दिन एक जनालाई लक्की ड्र मार्फत मोबाइल पुरस्कार प्रदान गरिदै आएको छ ।