वीरगञ्ज भन्सारमा राजस्व छलीका दर्जनौं ट्रक, कारबाही गर्न आलटाल

कन्टेनरका कन्टेनर अवैध रक्सी, ठुलो परिमाणमा सुपारी, मरिच र छोकडा

काठमाडौं/वीरगञ्ज भन्सारस्थित ड्राइपोर्ट ९सुख्खा बन्दरगाहा०मा राजस्व छली तथा कोटाविपरीत ल्याइएका ठुलो परिमाणका सुपारी, रक्सी, छोकडा र मरिच रहेको भए पनि कारबाही प्रक्रिया थालिएको छैन।

केही व्यापारी र बिचौलियाले कर्मचारीसँग नै सेटिङ गरी ती सुपारी, रक्सी, छोकडा र मरिच गन्तव्य स्थानतर्फ लैजान विभिन्न खाले प्रपञ्च गरिरहँदा समेत उनीहरूमाथि छानबिन र कारबाही प्रक्रिया थालिएको छैन।

स्रोतका अनुसार वीरगञ्ज भन्सारको गोदाममा राजस्व छलेर कोटाविपरीत ल्याइएका झण्डै ४० ट्रक सुपारी, १० कन्टेनर अवैध रक्सी, ठुलो परिमाणका छोकडा, मरिच लगाएका माल सामानहरू गोप्य रूपमा राखिएका छन्।

भन्सार विभागले वीरगञ्ज भन्सारस्थित गोदाममा ठुलो परिमाणमा राजस्व छलीका तथा कोटाबिनाका सुपारी, रक्सी, छोकडा मरिच भएको बताउँदै त्यस सम्बन्धमा अनुसन्धान गर्न छानबिन टोली बनाए पनि छानबिन टोलीले अनुसन्धान प्रक्रिया अघि बढाउन सकेको छैन।

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले पाँच दिनअघि छानबिन टोली बनाइएको बताए पनि सो टोली हालसम्म फिल्डमा परिचालन हुन सकेको छैन। महानिर्देशक पौडेलले भने ती अवैध मालसामान बरामद प्रक्रिया थालिएको दाबी गर्नुभयो। उहाँले शनिबार नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अब आइतबारदेखि नै अनुसन्धान टोली फिल्डमा पठाएर कारबाही प्रक्रिया थाल्छौं। ’

महानिर्देशक पौडेलका अनुसार विभागले सार्वजनिक सूचना नै जारी गर्दै वीरगञ्ज भन्सारमा अवैध रूपमा राखिएका मालसामानको स्वघोषणा गरी प्रक्रियामा आउन दिएको सात दिनको समय सकिइसकेको छ । ‘हामीले दिएको समय सकियो, अटेर गर्नेमाथि अब कारबाही प्रक्रिया अगाडि बढाउँछौँ ।’ – पौडेलले भन्नुभयो ।

महानिर्देशक पौडेलले वीरगञ्ज भन्सारमा ठुलो परिमाणमा तस्करीको सामानहरू रहेको जानकारी आए पनि ती सामानहरू के कति परिमाणमा छन् भन्ने सम्बन्धमा यकिन नभएको बताउनुभयो।

वीरगञ्जलगायत देशका अन्य विभिन्न भन्सार नाकाबाट अर्बौं मूल्यका सामग्रीहरू राजस्व छलेर बाहिर निकाल्न खोजिएको भन्दै छानबिनको माग गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ।

अख्तियारले करोडौं राजस्व छलीको विषय गम्भीर भएको भन्दै त्यस सम्बन्धमा छानबिन गर्न भन्सार विभागलाई निर्देशन दिँदै आएको छ। अख्तियारको निर्देशनपछि भन्सार विभागले छानबिन थालेको बताइएको छ।

अख्तियारले पनि राजस्व छलीको विषयलाई आफ्नै किसिमले अध्ययन र अनुसन्धान गर्दै आइरहेको अख्तियार उच्च स्रोतले जानकारी दियो। यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।