महोत्तरी घुमुवाको अबैध असुली बढदै ! प्रहरीमा कमिशनको हिस्सा कहाँसम्म ?

काठमाडौं/नेपाल प्रहरीलाई स्वच्छ र पारदर्शी बनाउने अभियान प्रहरी संगठन स्वयम् र गृह प्रशासनले चलाएको भएपनि फिल्डमा खटिने प्रहरी कर्मचारीले भने व्यक्तिगत स्वार्थका लागि तस्करहरुसँग कमिसन उठाउनु, अवैद कारोबारीसँग नजराना बुझ्नु नौलो भएको छैन भ्रष्ट र बद्नाम कर्मचारीले जनतालाई दिने शान्ति सुरक्षा भन्दा तस्कर र भ्रष्टचारीलाई सहयोग गरेर कमिशन बुझ्नु आफ्नो कर्तव्य सम्झदा संगठन बद्नाम हुन पुगेको छ ।

महोत्तरीको मटिहानी भारतको मधबापुर बजारसंग सीमा जोडिएको हुँदा मटिहानी नाकाबाट व्यापक तस्करी हुने गरेको छ । तस्करलाई तस्करी गर्न सहज बनाउने काम सीमा प्रहरी मटिहानीका घुमुवा प्रहरी जवान मनोज साहले गर्दै आएका छन् ।

घुमुवा साह विगत चार वर्षदेखि सीमा प्रहरी मटिहानीमा घुमुवाको रुपमा परिचालित छन् । नेपाल प्रहरीले घुमुवा परिचालन नगर्न लामो समयदेखि आफ्ना युनिटहरुमा परिपत्र गरेको भए पनि भ्रष्ट र कमाउ उद्देश्य राख्ने युनिट प्रमुखले घुमुवा परिचालन गरी तस्कर र अवैध कारोबारीहरुसँग पटके र मासिक रकम उठाउने गरेका छन् ।

मटिहानीबाट हुने तस्करीको सञ्जाललाई तस्करीलाई खुल्ला गर्न र संरक्षण दिने काम जिल्ला प्रहरी महोत्तरीका घुमुवा प्रहरी हवल्दार राजेश यादवले गर्ने गरेका छन् । हवल्दार यादव विगत एक दशकदेखि जि।प्र।का महोत्तरीमा घुमुवाको रूपमा काम गर्दै आएका छन् ।

हवल्दार यादवको महोत्तरीमा हुने तस्करी, गांजा तस्करी, अबैध हुण्डी कारोबारका सञ्जालसँग वषौंदेखि सम्पर्क भएका कारण महोत्तरीमा जो प्रहरी प्रमुख आउँदा पनि घुमुवा यादवलाई नै अबैध पैसा असुलन जिम्मा दिने गरेका छन् ।

प्रहरी संगठनमा सरूवा पदस्थापनको नीतिनियम छ तर, घुमुवा यादवमाथि सरुवा र पदस्थापनको नीति नियम लागू नहुनुलाई अर्थपूर्ण रुपमा हेर्न थालिएको छ ।

प्रहरी संगठनभित्र भएका वेथितिलाई पारदर्शी बनाउने अभियान बोकेका आइजीपीदेखि संगठनलाई चुस्त बनाउने नीति निर्माण गर्ने आइजीपीका सहयोगीहरुले समेत वषौंदेखि घुमुवा रहेका प्रहरी कर्मचारीहरुको सरुवामा वेवास्ता गर्नुले प्रहरीको नीतिलाई नै धज्जी उडाउन थालेको छ ।

घुमुवा हवल्दार यादवको महोत्तरीबाट सरूवा भएको भएपनि त्यहाँ एसपीले आर्थिक लाभ लिन कै लागि उनलाई दरबन्दीमा नपठाई महोत्तरीमैं घुमुवाको रुपमा राखेका हुन् ।

घुमुवा साह र यादव जस्ता प्रहरी कर्मचारीले गर्दा नै महोत्तरी प्रहरी मात्र नभई संगठननै बदनाम बनेको छ ।

मटिहानीबाट तस्करी लाइन पाउने व्यापारीहरू बिन्देस्वर नायक, प्रमोद साह, बिनोद साह, रंजीत यादव, सुजित साह, सुकेश नायकलगायतका छन् ।

व्यापारीले दिनमा लाखौ मूल्य बराबरको समान भन्सार छलेर नेपाल भित्र्याउने गरेका छन् र तस्करीमा संलग्न व्यापारीसँग महिनाको मोटो रकम घुमुवाद्वय यादव र साहले असुल्ने गरेका छन् ।

उनीहरुले असुल गरेको रकम जीप्रका प्रमुख एसपी र सम्बन्धित सीमा चौकी प्रमुखहरुलाई बुझाउनुको साथै उठाएको रकममध्ये ठूलो हिस्सा रकम आफूले राखेर संगठनलाई बद्नाम बनाउनदा समेत प्रहरी नेतृत्वको ध्यान जान नसक्नु बिडम्वना जस्तै भएको श्रोत बताउछ ।

प्रहरीमा कमिशनको चलखेल
नेपाल प्रहरीका आवश्यक सामान खरिदमा बिचौलियादेखि प्रहरी कर्मचारीसम्मले सेटिङ् मिलाएर संगठनलाई बदनाम गर्ने गरेका छन् ।

प्रहरी आइजीपी परिवर्तन भएका बेला संगठनलाई चुस्त र पारदर्शी बनाउने प्रतिवद्धता जाहेर गर्न छाड्दैनन् ।

गृहमन्त्री परिवर्तन हुँदा पनि प्रहरी संगठनलाई शून्य सहनशीलता अपनाउन निर्देशन दिदै भ्रष्टाचार शून्य बनाउने प्रतिवद्धता गर्ने गरेका छन् ।

वर्तमान गृहमन्त्रीले भ्रष्टाचार विरोधी अभियान चलाएकै बेला प्रहरी आइजीपी पनि संगठनलाई चुस्त र पारदर्शी बनाउने अभिव्यक्ति दिन पछि परेका छैनन् ।

तर, यही समयमा नेपाल प्रहरीको ठेक्कामा ठूलो चलखेल शुरू बताइन्छ । झण्डै एक अर्ब रूपैयाँ बराबरको उक्त ठेक्कामा प्रशासन विभागकी अतिरिक्त महानिरीक्षक मीरा चौधरीलाई झुक्याएर सेटिङमा आफू नजिकका र बढी कमिशन दिने ठेकेदारलाई ठेक्का दिने गरि सेटिङ हुन थालेको बताइन्छ ।

यस प्रकरणमा करोडौको खेल भैरहेको छ । अवकाशको समय नजिकिँदै गर्दा हालसम्म भ्रष्टाचार र अनियमिततामा कतै दाग नलागेकी मीरा चौधरीलाई यो ठेक्का प्रकरणले अख्तियार धाउनुपर्ने बाध्यता बनाउने हो कि भन्ने गाँईंगुँईँ प्रप्रकामा चल्न थालेको छ ।

केही दिन अगाडि भएको ठेक्का प्रक्रियामा विभिन्न सामान खरिदका लागि विभिन्न कम्पनीले ठेक्का हालेका छन् । उक्त ठेक्का प्रक्रियाको अहिले आवश्यक कागजात रूजु गर्ने र नमुना हेर्ने काम भैरहेको छ ।

प्रहरीमा लामो समयदेखि ठेक्का गरेका र भित्र सेटिङ मिलाएर ठेक्का हात पारिरहेका ठेकेदारहरूले यसपटक पनि ठूलो चलखेल गरेर ठेक्का हत्याउन लागी परेका छन् ।

गत बर्षहरूमा ठेक्का हाल्नु पूर्व नै ठेकेदारहरूले भित्रको सेटिङमा ठेक्का मिलाउने, ठेक्काको भागबन्डा गर्ने र पूरा बजेटमा ठेक्का पाउने काम हुँदै आएका थिए ।

यसबापत ठेकेदारले भित्र ठेक्काको प्रतिशतका दरले कमिशन बुझाएर प्रहरीका सम्बन्धित कर्मचारीहरुलाई रिझाइ ठेक्का हत्याउने गरेको प्रक्रियालाई यसपटक पनि निरन्तरता दिने कोसिस गरिरहेका छन् ।

तर यसपटक भने तीनपटकसम्म ठेकेदारहरूको मिटिङ बसेपनि पुरानो शैलीमा ठेक्काको कुरा नमिलेपछि सामान खरिद प्रक्रिया प्रतिस्पर्धामा गएको श्रोत बताउछ ।

खरिद प्रक्रिया प्रतिस्पर्धामा गएपनि अहिले भित्र सेटिङ भएका ठेकेदारहरुले ठेक्का हत्याउन विगतमा आंफुहरुले गरेका कामलाई निरन्तरता दिने गरि चलखेल गरिरहेका छन् ।

ठेक्कामा जतिसुकै कम्पनीले ठेक्का हालेको भए पनि प्राविधिकमा एउटा कम्पनीलाई मात्रै सिफारिस गर्ने गरि ठूलो आर्थिक चलखेल भैरहेको छ ।

प्राविधिकमा सेटिङमा एउटा मात्रै सिफारिस भए पछि आर्थिकमा उसले पाउने निश्चित हुने देखिन्छ ।

त्यसमाथि गत बर्षहरूमा जस–जसले जे–जे काम गरे त्यही काम पाउने गरि प्रवन्धमा कार्यरत डिआइजी सम्मलाई सेटिङ मिलाएर एआइजी चौधरीलाई गुमराहमा राख्ने प्रपञ्च प्रहरीकै सेटिङ हुन थालेको छ । ठेक्काको रकमको प्रतिशतको हिसाबले कमिशन दिने खेल भैरहेको खबर गोलमेचमा उल्लेख छ ।

कमिशन र नियतवश कसैलाई फेल गरेर ठेक्काको निर्णय भएमा अख्तियारमा उजुरी परेर छानबिन हुने अवस्था आएको खण्डमा आफूलाई जतिसुकै स्वच्छ र पारदर्शी एवम् काबिल आधिकारी भएको सफाई दिएपनि खरिदमा हुने भ्रष्टाचारमा भने सम्बन्धित अधिकारीहरु बच्न त्यति सहज नहुन सक्छ ।