एमसीसी विरुद्ध क्रान्तिको मोर्चाले नयाँ मोड लियो: प्रकाण्ड

काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले एमसीसी विरुद्ध क्रान्तिको मोर्चाले नयाँ मोड लिएको बताएका छन्। नेपाल कम्ययुनिष्ट पार्टीले काठमाडौँमा सोमबार आयोजना गरेको एमसीसी परियोजना कार्यान्वयन विरुद्धको बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै प्रवक्ता प्रकाण्डले क्रान्तिको मोर्चाले नयाँ मोड दिएको बताएका हुन् ।

उनले नेपाली जनता र राष्ट्रलाई लामो समयसम्म धोका हुने गरी एमसीसी आएको तर्क गर्दै कुनै पनि कोणबाट एमसीसीले नेपाली जनता र राष्ट्रलाई राम्रो नगर्ने बताए । प्रवक्ता प्रकाण्डले विगतमा २००६ सालदेखि विभिन्न चरणमा साम्राज्यवाद र दलाल संसदीय व्यवस्था विरुद्ध नेपाली जनताले आन्दोलन गर्दै आएपनि नेतृत्वको असक्षमताले धोका खानु परेको खुलासा गरे । उनले अबको क्रान्ति र राष्ट्रिय स्वाधीनताको आन्दोलनले विगतमा भएका धोकाबाट माथि उठेर देश र जनतालाई मुक्त गर्नुपर्ने र त्यसको लागि नेकपा प्रतिबद्ध रहेको बताए ।

प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीले एमसीसी विरुद्ध सुरुदेखि नै कडा संघर्ष गर्दै आएको स्मरण गराउदै फेरी राष्ट्रघाती र जनघाती एमसीसी कार्यान्वयन गर्ने षड्यन्त्रका विरुद्ध कडा संघर्ष गर्न तयार भएको बताए ।
उनले आफ्नो पार्टीको एमसीसी कार्यान्वयन विरुद्धको आन्दोलनमा सबै कम्युनिष्ट,राष्ट्रवादी, क्रान्तिकारी, देशप्रेमी, वामपन्थी, बुद्धिजीवी तथा आम नेपाली जनतालाई साथ दिन अपिल पनि गरे ।