आजदेखि दसैँ, तिहारको लागि अग्रिम टिकट बुकिङ खुला

काठमाण्डौं/आजदेखि दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला भएको छ । यही भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज १ गतेदेखि लामो तथा मध्यम दूरीमा अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।

बैठकले यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले यथाशक्य छुट वा सहुलियतसमेत प्रदान गर्ने निर्णय गरेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आजदेखि लामो तथा मध्यम दूरीको बसको टिकट खुलेको जानकारी दिए ।

त्यस्तै यातायात आवागमन सहज बनाउन खाद्यान्नलगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलरलगायतका ठूला सवारीसाधन आगामी असोज १५ देखि २२ गतेसम्म नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय बैठकले गरेको छ ।