आज विश्वकर्मा पूजा

काठमाण्डौं/कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । कालिगडले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पूजाआजा गरेर बिश्वकर्मा पूजा मनाउँदै छन् ।

विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।