सन्दीप लामिछानेविरुद्ध मध्यराति पटकपटक बलात्कार गरेको जाहेरी

काठमाडौं/राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले जाहेरी दर्ता भएलगत्तै वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी) मा पीडित किशोरीको विस्तृत स्वास्थ्य परीक्षण गराइएको छ । प्रेस विज्ञप्ति अनुसार पीडितले दिएको जाहेरी दर्खास्तमा ५ भदौमा काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा लगेर राति बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

प्रहरीले भनेको छ, ‘काठमाडौंमा ल्याइ रातको अन्दाजी ११ः५५ बजे काठमाडौं–९ स्थित एक होटलको कोठा नम्बर ३०५ मा ६ गते बिहान १२ः२५ मा पटकपटक जबरजस्ती करणी गरेको लगायत उल्लेख गरी २१ भदौमा प्रहरी वृत्त, गौशालामा जाहेरी दर्खास्त परेको छ ।’

अनुसन्धानका लागि विभिन्न विधि र प्रविधि प्रयोग गरेर जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त टोली खटिएको विज्ञप्तिमा भनिएको छ । सन्दीप घटनाको भोलिपल्ट नेपाली क्रिकेट टोलीको नेतृत्व गर्दै केन्या गएका थिए ।