चितवनको भरतपुर महानगरले कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

चितवन/चितवनको भरतपुर महानगरपालिकाले कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । महानगरपालिकाको वार्षिक कार्यक्रम अन्तरगत सामुदायिक र संस्थागत विद्यालयमा कक्षा ११ र १२ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको हो । चालु आर्थिक वर्ष ०७९/०८० का लागि सामुदायिक र संस्थागत विद्यालयमा १० जोड २ मा अध्ययन गर्ने विद्यार्थीको कुल संख्याको ५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भरतपुर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

छात्रवृत्ति आवेदन दिनका लागि विद्यार्थीहरुले साउन १२ देखि २६ गतेको समयसीमा तोकिएको छ । विद्यार्थीहरुले आवेदनको साथमा अन्य कागजात पनि समावेश गर्नु पर्नेछ । महानगरको शैक्षिक महाशाखाले जारी गरेको सूचनामा छात्रवृत्ति आवेदनको साथमा एसइइको ग्रेड सिट, अपाङ्गता भएको विद्यार्थीको हकमा अपाङ्गता परिचयपत्र, जनजाति र दलित विद्यार्थीको हकमा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित कागजात, जनआन्दोलनका घाइतेका सन्तति, वेपत्ता परिवारका सन्तति र मधेस आन्दोलनका सन्ततिको जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित कागजात समावेश गर्नुपर्ने छ ।

सूचनामा विपन्न कोटामा आवेदन दिन सम्बन्धित वडाबाट विपन्न परिवारको सदस्य भएको सिफारिस पेश गर्न भनेको छ । गत वर्ष महानगरले २ सय ३९ जना विद्यार्थीलाई छात्रवृत्ति दिएको थियो । छात्रवृति पाएका विद्यार्थीले भर्ना शूल्क र मासिक शूल्क तिर्नुपर्ने छैन ।