चितवनको भरतपुर महानगरको बजेट पारित

भरतपुर/शुक्रबार सुरू भएको भरतपुर महानगरपालिकाको एघारौं नगरसभा आइतबार सम्पन्न भएको छ । नगर प्रमुख रेनु दाहालद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपप्रमुख चित्रसेन अधिकारीद्वारा प्रस्तुत ५ अर्ब ७४ करोड बराबरको बजेट पारित गर्दै नगरसभा सम्पन्न भएको हो । नगरसभाले आर्थिक वर्ष ०७९–८० को बजेट अनुमोदनसँगै आर्थिक, विनियोजित विधेयक पारित गरेको हो ।

सो अवसरमा कार्यपालिकाका बैठकले गरेका निर्णयलाई परिमार्जनसहित अनुमोदन गरिएको छ । सभामा बोल्दै प्रमुख रेनु दाहालले महानगरपालिकामा राजनैतिक भेदभाव नहुने प्रतिवद्धता व्यक्त गरिन् । सबै जना जनप्रतिनिधिको एक मात्र उद्देश्य र संकल्प भनेको महानगरको विकास मात्रै भएकाले पार्टीगत राजनीतिबाट अलग रहनुपर्ने बताइन् ।

महानगरमा रहेका सबै समस्यालाई सबै जनप्रतिनिधिले समाधानको लागि सधै सल्लाह सुझाव ग्रहण गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त पनि गरिन् । अहिले वडामा रु २ करोड ५० लाखका दरले बजेट विनियोजन भएपनि समग्रमा २९ वटै वडामा बाँकी बजेट खर्च हुने बताइन् ।