अमेरिकामा पछिल्लो ४० वर्ष यताकै उच्च महँगी

एजेन्सी/अमेरिकामा खाद्यान्न र ऊर्जामा पछिल्लो ४० वर्षयताकै महँगी बढेको छ । बेलायती समाचार संस्था बीबीसीका अनुसार सन् १९८१ यताकै उच्च महँगीको मारमा अमेरिका परेको छ ।

अमेरिकाको श्रमिक विभागका अनुसार यो वर्ष महँगी दर ८।६ प्रतिशतका दरले बढेको छ । जुन, अघिल्लो महिनाको प्रक्षेपणभन्दा बढी हो । महँगी बढेसँगै अमेरिकाका मध्यम र निम्न वर्गीय सर्वसाधारण समस्यामा परेका छन् । यस्तै, नीति निर्माता समेत महँगीबाट प्रभावित बनिरहेका छन् ।

सन् २०२१ मेको तुलनामा अमेरिकामा खाद्यान्नको मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, ऊर्जाको मूल्य ३४ प्रतिशतसम्म उकालो लागेको बताइएको छ । अहिले अमेरिकामा खाद्यान्न र ऊर्जाको भाउ मात्रै बढेको छैन । बरु, एयरलाइन्सको टिकटको मूल्य, औषधी र लत्ताकपडाको मूल्य समेत आकासिएको छ ।

अमेरिकामा सन् १९८१ यता अहिलेको तुलनामा महँगी बढेको थिएन । बैंकरेटका प्रमुख जर्ज एमसीब्राइड महँगी अपेक्षाभन्दा माथि पुगेको र यो सकारात्मक बाटोमा नरहेको बताउँछन् । यस्तै, महँगी ८।६ प्रतिशत पुगेर रोकिने छाँटमा छैन ।