अर्घाखाँचीमा चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु

अर्घाखाँची/चितुवाको आक्रमणबाट अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ४ अमलडाँडामा सात वर्षीय बालकको मृत्यु भएको छ । बिहीबार साँझ चितुवाले घरबाटै समातेको बालक सम्राट नेपालीको शव घरबाट करिब एक किमीको दुरीमा छिन्नभिन्न अवस्थामा फेला परेको हो ।

अपरान्ह साढे चार बजे विद्यालयबाट घर आएका बालक बारीमा रहेकी आमा भएतिर जाँदै गर्दा चितुवाको निशानामा परेका थिए । बारीमा आरु खान गएको बेला चितुवाले आक्रमण गरेको स्थानीय उमेश अधिकारीले जानकारी दिए ।

चिचुवाको आक्रमणमा परेका बालकको स्थानीय र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीले रातिसम्म खोजी गरेको थियो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख अमर थापाले बालकको शव फेला परेको बताए ।