छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स क्याम्पसका कोअर्डिनेटर पक्राउ

काठमाडौं/चाबहिलको सेन्ट लरेन्स कलेजमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले क्याम्पसका कोअर्डीनेटरलाई पक्राउ गरेको छ । कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीलाई प्रहरी वृत्त, गौशालाले पक्राउ गरेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।

अधिकारीले कलेजका छात्रालाई दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यार्थीहरु आन्दोलित भएका थिए । त्यसपछि छलफलका लागि भन्दै शिक्षक र अभिभावकलाई प्रहरीले गौशालास्थित प्रहरी वृत्तमा बोलाएको थियो । त्यहीबीच सोधपुछ गरेर शिक्षक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

अधिकारीले ‘आफूले भनेअनुसार गरे सहयोग गरिदिने’ भनेर छात्रामाथि गलत मनसाय राखेको विद्यार्थीहरुको आरोप छ ।

कोअर्डिनेटर अधिकारीले पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूले यतिबेला प्रहरी वृत्त गौशाला अगाडि विद्यालय पोसाकमै प्रदर्शन गरेका छन् ।