माटोको इँटालाई सुन भनी झुक्याउने पाँच जना दाङबाट पक्राउ

दाङ/माटोको इँटालाई सुन भनी झुक्याउने पाँच जनालाई दाङको तुलसीपुरबाट प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्दप्रसाद रिजालका अनुसार दाङको राजपुर गाउँपालिका ६ खाङ्ग्रानाका २६ वर्षीय राजकुमार बुढा, २४ वर्षीय प्रकाश खड्का, दार्चुलाको व्यास गाउँपालिका २ का २३ वर्षीय सुरेन्द्र सिंह धामी, सल्यानको शारदा नगरपालिका १ की ४९ वर्षीया सावित्रा बुढाथोकी र सल्यानकै कुमाख गाउँपालिका १ की ३० वर्षीया गीता बुढालाइ पक्राउ गरिएको हो ।

हिजो आइतवार राति तुलसीपुर उपमहानगरपालिका ६ को एकान्त होटलमा नक्कली सुन बिक्री/वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट झोलाभित्र लुकाइ राखेको माटोको दुई वटा पक्की इँटा र सुनजस्तो देखिने धातुको टुक्रा एक थान बरामद गरिएको प्रहरीले बताएको छ ।