बिप्लब नेतृत्वको नेकपा फुटको संघारमा, सचिवालय सदस्य ‘सुदर्शन’ र कंचन पदमुक्त!

नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजन नजिक पुगेको छ । पार्टी निर्णय विपरित गतिविधि गरेको भन्दै विप्लवले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेपछि पार्टी विभाजनको संघारमा पुगेको हो ।
पार्टी विभाजनको औपचारिक घोषणा नभएको भएपनि कारबाहीमा परेकाहरुले छुट्टै पार्टी गठन गर्ने अन्तिम तयारी गरेको बुझिएको छ। आज बुधबार बिहान कपिलवस्तुको शिवगढीमा बसेको विप्लव नेकपाको सचिवालयको बैठकले ओली र बास्तोलालाई निष्काशन गरेको हो । बैठकमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर सहभागी थिए । ‘सुदर्शनजी र कञ्चनजीले मच्चाएको वितण्डा एवं कञ्चनजीले अलग केन्द्रका रुपमा वक्तव्य निकालेपछि लगत्तै सचिवालयका कमरेडहरूसँग छलफल गरियो’, विप्लवले बुधबार जारी गरेको विज्ञप्तिमा भनेका छन् । ‘सबैतिरका सुझाव एवं सुदर्शन र कञ्चनका गल्तीहरूको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न बैठक एवं भेलासमेत गर्दै हिँडेकोले पार्टी विधान अनुसार दुवै जनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ ।’
महासचिव विप्लवले आफुहरु पार्टीमा यस्तो नहोस् भन्ने चाहँदा चाहँदै विभिन्न तत्वहरुको उक्साहटमा मुख्यतः सुदर्शन र कञ्चनकै अराजकतावादी, अवसरवादी, विचलनवादी गतिविधिका कारण यो निर्णय गर्न बाध्य भएको उल्लेख गरेका छन् । ‘तथापि हामी सबै पार्टी पङ्क्तिलाई बाह्रौं पूर्ण बैठकका पारित प्रस्ताव र निर्णयहरुलाई रक्षा र कार्यन्वयन गर्दै निरन्तर अगाडि बढ्न विशेष अपिल गर्दछौं’, विप्लवले भनेका छन् ।