फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल लिटरको १६० रुपैयाँ पुग्यो

काठमाडौँ/इन्धनको मूल्य फेरि वृद्धि भएको छ । नेपाल आयल निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले मंगलबार राति १२ बजेपछि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको हो ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएर १६० रुपैयाँ कायम गरेको छ । यस्तै, डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

निगमले हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । मूल्य बढेपछि हवाई इन्धन आन्तरिककोे मूल्य प्रतिलिटर १५६ रुपैयाँ पुगेको छ ।

यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फको मूल्य पनि प्रतिकिलोलिटर ५० अमेरिकी डलर बढाएको छ । मूल्य बढाएपछि हवाई इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर १ हजार ५४५ अमेरिकी डलर पुगेको छ ।

निगमले खाना पकाउने (एलपी) ग्यासको मूल्यसमेत समायोजन गरेको छ । समायोजनपछि ग्यासको मूल्य प्रतिसलिन्डर १ हजार ६०० रुपैयाँ पुगेको छ ।

नयाँ मूल्य समायोजन पश्चात पनि मासिक ९ अर्ब २७ करोड घाटा हुने निगमको भनाइ छ । चालु आर्थिक वर्ष २०७८/७९ मा मात्रै ३३ अर्ब रुपैयाँ घाटा बेहोरिएको निगमले जनाएको छ ।

No description available.