आज बेलुकीपख वाग्मती, गण्डकी र प्रदेश १ का पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाण्डौ/उपत्यकासहित पडाही क्षेत्रको मौसम सुधार हुन थालेको छ ।
हिजो अस्ति यतिबेला काठमाण्डौसहित पहाडी क्षेत्रको मौसम सामान्यदेखि पूर्ण बद्ली हुने गरेकोमा आज भने मौसम आंशिक मात्रै बद्ली भएको र बिहानैदेखि घाम लागेको छ ।

भारतको बिहार आसपास रहेको न्यून चापीय रेखाको प्रभाव कमजोर बन्दै गएकाले मौसममा सुधार हुन थालेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । यो प्रणालीको प्रभाव हट्दै जाने भएकाले दिउँसोदेखि मौसम पूर्ण रुपमा खुल्ने पनि उहाँले बताउनुभयो ।

यस्तै, आज बेलुका पनि वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी क्षेत्रका एक दुई ठाउँमा भने मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । प्रि मनसुनको समय भएकाले पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षको सम्भावना रहेको मौसमविदको भनाई छ ।