सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य गरिएपछि खोप लगाउनेहरुको सङ्ख्या बढे

काठमाण्डौ/आगामी माघ ७ गतेदेखि सार्वजनिक ठाउँमा जाँदा खोप कार्ड अनिवार्य गरिएपछि खोप लगाउनेहरुको सङ्ख्या बढेको छ । तर खोप केन्द्र थोरै हुँदा नागरिकलाई असहज भएको छ । सरकारले पुस मसान्तसम्म १८ वर्षका दुई तिहाइ जनसङ्ख्यालाई खोपको पूरा मात्रा दिने लक्ष्य लिएको छ ।

अहिलेसम्म वाग्मती र गण्डकी प्रदेशले मात्र यो लक्ष्य हासिल गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाको तथ्याङ्कअनुसार गण्डकी प्रदेशमा ८३ प्रतिशतले एक डोज र ७९ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

वाग्मतीमा ७८ प्रतिशतले पहिलो र ७५ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् । प्रदेश(१ मा ७२ प्रतिशतले पहिलो र ५० प्रतिशतले पूर्ण तथा प्रदेश(२ मा ५२ प्रतिशतले पहिलो र ४२ प्रतिशतले पूर्ण डोज लगाएका छन् । लुम्बिनीमा ७२ प्रतिशतले पहिलो र ५२ प्रतिशतले पूर्ण तथा कर्णालीमा ५५ प्रतिशतले पहिलो र ४७ प्रतिशतले दोस्रो डोज लगाएका छन् ।

सुदूरपश्चिममा ६३ प्रतिशतले पहिलो र ५६ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् । हिजोसम्म कुल जनसङ्ख्याको ३७ दशमलव ८ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् ।