आज केहि प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाण्डौं/देशका आंशिक भू–भागमा आज मौसम बदली रहने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको हुँदा प्रदेश नं. १ र प्रदेश नं. २ लगायत पहाडी भू–भागहरूमा सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग अन्तगर्तको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी स्थानहरूमा आंशिक बदली रहेको छ ।
महाशाखाले आज दिउँसो देशभर आंशिक बदली रहने बताएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

आज राति देशभर आंशिक बदली रहने छ । प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश गण्डकी प्रदेश, बागमती प्रदेश तथा प्रदेश नं. १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।