कोरोनाको ओमिक्रोन भेरियन्टलाई कमजोर नठान्न डब्लूएचओको आग्रह

काठमाण्डौं/कोरोनाको ओमिक्रोन भेरियन्टलाई कमजोर नठान्न विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले अनुरोध गरेको छ ।
यसअघिका भेरियन्टभन्दा ओमिक्रोनले विरामीलाई गम्भीर अवस्थामा पु¥याउने दर कम भएपनि यसले सङ्क्रमण दर र मृत्यु दर बढाइरहेको भन्दै सचेत हुन डब्लूएचओले अपील गरेको हो । डब्लूएचओका अनुसार ओमिक्रोन भेरियन्ट कै कारण विश्वभर एक हप्तामा सङ्क्रमण दर ७१ प्रतिशतले बढेको छ

यसैबीच विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३० करोड नाघेको छ । गत २४ घण्टामा २४ लाख ९७ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३० करोड ६ लाख नाघेको हो ।

यस्तै ६ लाख ८९ हजार निको भएसँगै कोरोना जित्नेको सङ्ख्या २५ करोड ७४ लाख नाघेको छ ।
यसैगरी थप ६ हजार ८ सय सङ्क्रमितको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५४ लाख ८९ हजार नाघेको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले जनाएको छ ।