सालकको आखेटोपहार सहित २ जना पक्राउ

काठमाडौं / संरक्षित वन्यजन्तु सालकको खपेटा (आखेटोपहार) सहित काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भोजपुर राम प्रसाद राई गाउँपालिका-४ लाखुरे बस्ने ४० वर्षीय रुक्मण बहादुर बुर्जामगर र पाँचथर मिक्लाजुङ गाउँपालिका-८ टोखा बस्ने २७ वर्षीय भबिन्द्र बहादुर मगर रहेका छन् ।
कोटेश्वर क्षेत्रमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई १ किलो ५ सय ग्राम तौल भएको उक्त खपेटा सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कानुनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा पठाईएको उक्त ब्यूरोले जनाएको छ ।