फाइजर खोप कार्यक्रम स्थगित

चितवन/सरकारले चितवनसहित आठ जिल्लाका बालाबालिकाका लागि सञ्चालन गर्ने भनिएको कोभिड–१९ विरुद्धको फाइजर खोप कार्यक्रम तत्काललाई स्थगित गरेको छ ।
खोप दिनका लागि आवश्यक पर्ने ०.३ एमएलको सिरिन्ज प्राप्त नभएका कारण तत्काललाई कार्यक्रम स्थगित गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका ५७ जिल्लामा अहिले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई मोर्डना खोप दिइँदै छ । चितवनसहित काभ्रे,काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुली, डडेलधुरा र सुर्खेतमा भने यो उमेर समूहका बालबालिकालाई फाइजरको खोप दिइने सरकारको तयारी थियो । तर, युनिसेफले उपलब्ध गराउनुपर्ने ५० लाख सिरिन्ज आइनपुगेपछि कार्यक्रम तत्काललाई स्थगित गरिएको हो ।

स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालले सिरिन्ज आइनपुगेकोले आज मंगलबारबाट खोप कार्यक्रम सञ्चालन गर्न नसकेको बताइन् । उनले भनिन्, ‘चितवनमा १२ देखि १७ वर्षका किशोरकिशोरी ८५ हजार जना रहेका छन् । कहिलेलाई स्वास्थ्य मन्त्रालयबाट निर्देशन आउँछ सोही अनुसार तयारी गर्छौं ।’

नेपालमा अहिले ११ देखि १७ वर्षसम्मका बालबालिकालाई ५७ जिल्लाबाट मोर्डना, १८ वर्षमाथिका नागरिकका लागि सबै जिल्लाबाट एस्ट्राजेनेका र भेरोसेल तथा विदेश जानेहरूका लागि काठमडौंका चारवटा अस्पतालबाट जोनसन एन्ड जोनसनको खोप दिइँदै छ ।