सहकारीका सुरक्षा गार्डको हत्या गरेर रकम लुट्ने २ जना पक्राउ

दोलखा/सहकारीका सुरक्षा गार्डको हत्या गरी रकम लुटपाट गर्ने दुई जना दोलखाबाट पक्राउ परेका छन् ।

गएको कात्तिक १० गते गारीशंकर गाउँपालिका १ जुगुको हिमचुली बहुउद्देश्यीय सहकारी संस्थामा काम गर्ने सुरक्षा गार्ड पूर्णबहादुर खड्काको हत्या गरेको आरोपमा जुगुकै विक्रम कार्की र सुमन कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । उनीहरूले सुरक्षा गार्ड पूर्णबहादुरको हत्या गरी एक लाख ८५ हजार रुपैयाँ लिएर फरार भएका थिए ।

हत्या गरिएका पूर्णबहादुरको शव डोरीले हातखुट्टा बाँधेको र कपडाले मुख थुनेको अवस्थामा दुई दिनपछि नजिकैको जङ्गलमा भेटिएको थियो । पक्राउ परेका विक्रम कार्की र सुमन कार्कीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दोलखामा पठाइएको सीआईबीले जनाएको छ ।