यो वर्ष हिउँदे वर्षा पनि औसतभन्दा बढी हुने

काठमाण्डौ/यो सालको हिउँदमा पनि औसत भन्दा धेरै वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

विशेषगरी प्रदेश–१ का तराईका जिल्ला, प्रदेश–२, वाग्मती र लुम्बिनी प्रदेशमा औसतभन्दा ३५ देखि ४५ प्रतिशत धेरै पानी पर्ने सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार केही वर्षयता सुक्खा मौसम अर्थात हिउँदमा पानी पर्ने क्रम बढ्दै गएकाले हिउँदमा पानी पर्ने क्रम बढ्नु सामान्यजस्तै बन्दै गएको छ । केही वर्षयता नियमित रुपमा हिउँदमा पानी क्रम नबढेको भए पनि एकरदुई वर्ष बिराएर वा छिटो छिटो पानी बढी पर्ने क्रम दोहोरिन थालेको उहाँले बताउनुभयो ।

अक्टोबर, नोभेम्बर महिनामा वा हिउँदमा ठूलो पानी पर्नु बिरलै घटना मानिन्छ । तर केही वर्षयता यसको क्रम छिटोछिटो हुँदै जानुमा जलवायु परिवर्तन मुख्य कारण हुन सक्ने उहाँले बताउनुभयो ।

केही दिन अगाडि पनि ठूलो वर्षा भयो । केही वर्षयता अक्टोबर नोभेम्बरको तथ्याङ्क हेर्ने हो भने पश्चिममा धेरै पानी पर्ने गरेको देखिएको छ । यो समयमा पश्चिमी वायु सक्रिय हुने भएकाले पश्चिमी क्षेत्रमा बढी पानी परेको हुन सक्ने मौसमविद् कँडेलले बताउनुभयो ।

समग्रमा गएको तीस वर्षको तथ्याङ्कलाई हेर्दा सुक्खा समयमा पानी पर्ने क्रम केही बढ्दै गएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अक्टोबर र नोभेम्बर महिनामा सरदरमा ७४ मिलीमिटर पानी पर्नु पर्ने हुन्छ ।

यो ३० वर्षको अन्तराललाई विश्लेषण गरेर बनाइएको औसत वर्षाको दर भएको विभागको मौसम विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलले बताउनुभयो । तर नोभेम्बर सुरु नै नहुँदा अर्थात अक्टोबरको २३ तारिखसम्ममै यसपालि २५६।६ मिलीमिटर पानी परेको छ ।

१२ वर्षको अन्तरालमा यो समयमा यति ठूलो पानी परेको मौसमविद्ले बताएका छन् । बेमौसमी वर्षा र हिउँदमा बढी पानी पर्ने कारणले धेरै क्षति पुर्याउने गरेकाले क्षति न्यूनीकरण गर्न पूर्वतयारी र जनचेतनामा जोड दिनुपर्ने मौसमविद्को भनाइ छ ।